लण्डन मोहले ४९ लाख चेट

भाद्र १, २०७७ | काठमाडौं

अनलाइन ठगी तथा नक्कली मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अफ्रिकन मुलुक अंगोलाका ४८ वर्षीय नागरिक सिल्भा एन्टोनियो डे कोस्टा हुन् । 

उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सोल्टी होटेलबाट पक्राउ गरेको हो । उनको साथबाट तीन लाख १७ हजार ७ सय ४५ नेपाली रुपैयाँ, ९ सय अमेरिकन डलर, विभिन्न एटीएम कार्ड, एक हजार दरका तीन थान नक्कली नोट, विभिन्न देशका मुद्राहरु, नोट आकारको कालो कागजको बण्डल, विभिन्न केमिकल, पाउडर समेत फेला परेको प्रहरीले जनाएको छ ।

उनी नक्कली नेपाली नोट बनाउने कार्यमा समेत संलग्न रहेको हुन सक्ने प्रहरीको आशंका छ । अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘उनको साथबाट बरामद कागज, केमिकल लगायत सामग्रीहरु नक्कली नोट बनाउन प्रयोग हुन्छ ।’ ठगी सम्बन्धी उजुरीपछि पक्राउ परेका ती विदेशी नागरिक नक्कली नोटको कारोबारमा समेत संलग्न भएको रहस्य खुलेको हो ।

यस्तो छ घटनाक्रम :

मार्की आरोनले एक जना नेपाली युवतीलाई विहे गर्ने आश्वासन दिई करीब ४९ लाख रुपैयाँ ठगी गरेको उजुरी महाशाखामा परेको थियो । मार्की आरोन नामबाट उनले ती युवतीसँग इन्स्टाग्राममा कुरा गर्थे र आफूलाई लण्डनस्थित बुपा क्यावाल अस्पतामा डाक्टर रहेको बताएका थिए । ‘उनले पीडित युवतीलाई नेपाल आएर तिमीसँग विहे गर्छु भनि विश्वास दिलाएछन्’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘नेपाली नयाँ वर्षको अवसरमा आफूले हिराको औंठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड समेत पठाएको छु भनि पीडितलाई विश्वासमा लिएछन् ।’

उपहारको आशामा सिन्धुलीस्थित एक बैंकमा कार्यरत ती युवतीले पटक/पटक गरी मार्की आरोनलाई ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पठाईन् । मार्की आरोनले एक महिना अघि पुन: २० लाख रुपैयाँ मागेपछि भने ती युवतीलाई शंका लाग्यो र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा पुगिन तर, सीआईबीले महानगरीय अपराध महाशाखामा जान सुझायो । 

उनले महाशाखामा उजुरी गरिन् । त्यसपछि प्रहरी र युवती मिलेर मार्की आरोनले भने अनुसार काम गर्न थाले । अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘ती विदेशी नागरिकले सामान पार्सलको फोटो समेत युवतीलाई पठाई प्रलोभन देखाई विश्वासमा पारी सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनको लागि रकम चाहियो भन्दै ठगी गरेछन् ।’

युवतीले बैंकबाट पैसा पठाउन मिल्दैन, नेपालमा कुनै एजेन्ट छ भने उसलाई दिन्छु भनिन् । एउटा एजेन्टको नम्बर दिएर नयाँ बानेश्वरस्थित दी एभरेस्ट होटलमा भेट्न भनियो । महाशाखाको टोली एभरेस्ट होटल पुग्यो तर, एजेन्ट भेटिएनन् । ती एजेन्टले सोल्टी होटलमा आउन भने । प्राविधिक अनुसन्धानबाट सोल्टी होटलमा ४८ वर्षीय सिल्भा एन्टोनियो डे कोष्टा गत शुक्रबार पक्राउ परे । मार्की आरोन र युवतीबीच भएको कुराकानी कोष्टाको मोबाइलमा भेटियो । 

प्रहरीले युवतीसँग मार्की आरोनका नाममा कुरा गर्ने व्यक्ति कोष्टा भएको प्रारम्भिक अनुमान गरेको छ । ती व्यक्ति गत गत फागुन २४ गते नेपाल आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युवतीले पठाएका पैसा अधिकांश नेपाली व्यक्तिकै खातामा जम्मा भएका थिए र विभिन्न ‘लेयर’पछि गिरोहले नगद पैसा हात पार्ने गरेका थिए । ‘अरु पनि व्यक्ति यो काममा संलग्न भएको हाम्रो अनुमान छ । थप अनुसन्धान हुँदैछ’ महाशाखाका प्रवक्ता इश्वर कार्कीले भन्नुभयो ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार ललितपुर, बारा, पर्सादेखि अछामसम्मका व्यक्तिको खातामा पैसा जम्मा भएको छ । अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘पैसा जम्मा भएका व्यक्तिसँग कुरा गर्दा उनीहरु आफूले पाउनु पर्ने पैसा जम्मा भएको तर, कसको खाताबाट जम्मा भएको थाहा नभएको बताउँछन् ।’ 


प्रतिक्रिया