वीरगञ्जमा निषेधाज्ञा थपियो

भाद्र १२, २०७७ | वीरगञ्ज

वीरगञ्जमा गत साउन १० देखि जारी निषेधाज्ञालाई भदौ १८ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदै १३ गते विहान ५ बजेसम्मका लागि जारी निषेधाज्ञालाई यही अवस्थामा भदौ १८ गते मध्यरातसम्म वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र मात्र निरन्तरता दिने निर्णय गरेको हो । 

सुरक्षा समितिले गत साउन १० देखि महानगरपालिका क्षेत्रभित्र तथा साउन १९ देखि पर्सा जिल्ला भरि लागु हुने गरि निषेधाज्ञाको निर्णय गरेको थियो । समितिको साउन ३१ को निर्णयबाट थप कडाईका साथ भदौ १३ सम्म निषेधाज्ञा लागू गरेको थियो ।

संक्रमण विस्तारलाई रोक्न ‘नो मास्क नो मुभ’ अभियान समेत सञ्चालन गर्ने निर्णय भएको प्रजिअ तामाङद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । सार्वजनिक स्थल, पसल, अस्पताल, बजार, सार्वजनिक कार्यालयहरुमा मास्क नलगाई आवतजावत गर्ने व्यक्तिलाई तत्काल कारवाही गर्ने जनाइएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोभिड १९ नियन्त्रण/व्यवस्थापन सम्बन्धी जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

अति गरिब, विपन्न, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने नागरिकलाई आवश्यकताका आधारमा राहत उपलब्ध गराउने निर्णय भएको छ । यसको प्रबन्ध वीरगञ्ज महानगरपालिकाले गर्ने जनाइएको छ । कोभिड १९ को प्रभावकारी व्यवस्थापन गर्न कन्टयाक्ट ट्रेसिङ कार्यलाई थप सहज बनाउन वीरगन्ज महानगरपालिका क्षेत्रभित्र प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा स्थानीय स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्ने र सो कार्यमा प्रहरीले सहयोग तथा सहजीकरण गर्ने निर्णय भएको छ । 


प्रतिक्रिया