अविरल बर्षासंगै खसेको पहिरोले तिनाउका आठ घरमा क्षति

आश्विन १०, २०७७ | पाल्पा

अविरल बर्षासंगै शुक्रबार रातीको खसेको पहिरोले तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, घोडेबास लगायतका स्थानमा आठ घरमा पहिरोले क्षति पुगेको छ । 

पहिरोले दोभानको घोडेबासस्थित टिकाराम खरेल, यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुगेको छ । माथिल्लो भागबाट खसेको पहिरोले उनीहरुको घरमा क्षति पुर्‍याएको उनका आफन्त दोभानका बिष्णुप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

तिनाउ गाउँपालिका–२, कै भीमबहादुर भुजेलको पनि माथिल्लो भागबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको छ । तिनाउ गाउँपालिका–३, सिद्धार्थ राजमार्ग क्षेत्रका अर्घाछापका लीलाबहादुर थापाको घर, च्याउघर लगायतमा पहिरोले क्षति पुगेको छ ।

राजर्गको माथिल्लो भागमा पहिरो खस्दा रुख सहितले घरमा क्षति पुगेको प्रहरी चौकी दोभानका प्रहरी सहायक निरीक्षक विक्रम भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार तिनाउ गाउँपालिका–३, कै अमरसिंह प्रधान र राजबहादुर श्रेष्ठको घर पनि पहिरोको जोखिममा परेको छ ।

वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले रातभरको अविरल वर्षाले के कति क्षति भएको छ भन्ने अझै एकिन तथ्यांक आउन नसकेको बताउनुभयो । उहाँले राजमार्ग छेउछाउमा मात्र अहिले जानकारीमा आएको तर भित्री गाउँको अवस्था बुझ्ने क्रममै रहेको बताउनुभयो । 


प्रतिक्रिया