४२ घण्टापछि एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

आश्विन ११, २०७७ | पाल्पा

अस्ति रातिदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग ४२ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिकाका दर्जन बढी स्थानमा पहिरो खसेर शुक्रबार बेलुकीदेखि अवरुद्ध भएको सडक खुलेपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 

राजमार्गका चिडियाखोला, कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, अर्घाछाप, पानीमिल लगायत स्थानमा ढुंगा र लेदो माटोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयले डोजर, स्काभेटर, ब्रेकर लगाएर सडकमा खसेका पहिरो पन्छाएको हो ।

झुम्सादेखि बुटवलसम्मको क्षेत्रमा हिजो बेलुकी अबरेसम्म पहिरो हटाएको थियो भने सिसुवा, पानीमिल लगायत स्थानमा ढुंगासहित खसेको पहिरो आइबार अपराह्न मात्र सकिएको सडक डिभिजनका सूचना अधिकृत शिवु खत्रीले बताउनुभयो । 

पहिरो खसेपछि पहाडी क्षेत्रमा आउने सवारी साधन बुटवलतर्फ रोकिएका थिए । पहाडबाट तराई भरेका सवारी साधनलाई केराबारी, चर्चरे, जोरधारामा रोकिएका थिए । गुल्मीतर्फबाट आउने सवारी साधनलाई भने हार्थोक, अर्गली लगायत स्थानमा रोकिएको थियो । 


प्रतिक्रिया