कोरोना संक्रमणबाट धरानमा एक महिलाको मृत्यु

 तस्बिर : प्रदिप मेन्याङ्बो, रेडियो कान्तिपुर ।

आश्विन १२, २०७७ | सुनसरी

कोरोना भाइरसको संक्रमणबाट धरानमा थप एक महिलाको सोमबार मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका क्रममा धरान उपमहानगरपालिका–२ की ३८ वर्षीया महिलाको मृत्यु भएको हो । 

निमोनिया सहित ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि प्रतिष्ठानमा उपचारका लागि पुर्‍याएको करीब ६ घण्टापछि उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार भदौ ११ गते राति साढे ११ बजे आकस्मिक कक्षमा पुर्‍याइएको थियो । 

तत्कालै प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ रिपोर्ट देखिएको थियो । दीर्घरोग नदेखिए पनि आकस्मिक कक्षमा परीक्षण गर्दा मृतक महिलामा अत्यधिक व्लड सुगर देखिएको थियो ।

मृतक महिलाको शवको व्यवस्थापन स्वास्थ्य प्रोटोकल अनसार भईरहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । योसहित धरानमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा विभिन्न जिल्लाका गरी मृत्यु हुनेको संख्या ३५ पुगेको छ । 

यसैबीच धरानका एक सञ्चारकर्मी, उपमहानगरपालिका १६ मा कार्यरत एक इन्जिनियर, धरान–१५ स्थित एक सामदायिक विद्यालयका प्रधानध्यापक सहित १४ जनालाई सोमबार संक्रमण पुष्टि भएको छ । 

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमण पुष्टि भएका १८ जनामध्ये प्रतिष्ठानभित्र कार्यरत एक चिकित्सक, एक नर्स र दुई जना मेडिसिन युनिट २ मा भर्ना भएका बिरामीहरु पनि रहेको मेहताले बताउनुभयो । 

इनरुवास्थित स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीमा ३३ जना संक्रमित थपिएका छन् । ती मध्ये धरानका १४ जना, इटहरीका १० जना र दुहवीका ९ जना रहेको जिल्ला कोभिड संयोजक दीक्षा श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया