बहराइनका राजकुमारको टोली मनास्लु आधार शिविर तर्फ

आश्विन २१, २०७७ | गोरखा

मनास्लु हिमाल आरोहणका लागि नेपाल आएका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सहितको टोली बुधबार आधार शिवर (बेस क्याम्प) तर्फ लागेको छ । राजकुमार सहितको टोली मंगलबार हेलिकप्टर मार्फत चुमनुब्री गाउँपालिका–१ सामागाउँ पुगेको थियो । 

८१६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लागि आएका राजकुमार सहितको टोलीलाई परम्परागत भेषभुषमा सजाएर स्थानीयले मंगलबार स्वागत गरेका थिए । स्थानीय भेषभुषा (छुवा) मा लगाएर राजकुमारलाई स्वागत गरेको चुमनुब्री गाउँपालिका–१ का वडा अध्यक्ष वीर बहादुर लामाले बताउनुभयो । 

स्थानीयले परम्परागत नृत्य सहित राजकुमारको टोलीलाई स्वागत गरेको थियो । स्थानीयको स्वागत सत्कार पछि राजकुमार सहितको टोलि सामागाउको स्थानीय एक होटलमा वास वसेको थियो । आरोहण दलका सदस्य सहितको टोलि वुधबार साडे नौ वजेतिर वेसक्याम्प तर्फ लागेको लामाले बताउनुभयो । 

आरोहण टोलीमा बहराइनका शही परिवार, सुरक्षा टोली र नेपाल तथा हल्याण्डका आरोहण गाइड रहेका छन् । स्थानीयको स्वागतपछि राजकुमार अलिफाले सामागाउँ आएपुग्दा खुसी लागेको प्रतिक्रिया दिनुभयो । सो टोलीलाई हिमाल आरोहणका लागि सेभेट समिट ट्रेक्स प्रालिले ब्यवस्था मिलाएको छ । 

अक्टोवर १५ देखि २० भित्र सो टोलीको हिमाल आरोहण गर्ने कार्यक्रम छ । आरोहण टोली केहि दिन मनास्लु बेस क्याम्पमै रहने सेभेन समिट प्रालिका निर्देशक पासाङ फुर्पा शेर्पाले बताउनुभयो । 

राजकुमारको टोलीलाई हिमाल आरोहणको तयारीका लागि डेड साता अघि ७५ जनाको टोली मनास्लु आधार शिविर पुगिसकेको छ । यसअघि राजकुमारको टोलीले सोलुखुम्बुको लुबुचे हिमालको आरोहण गरेको थियो । 


प्रतिक्रिया