भारतीय स्थल सेनाध्यक्ष नरवणे भोलि काठमाडौं आउँदै

कार्तिक १८, २०७७ | काठमाडौं

भारतीय स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि भोलि काठमाडौं आउँदै हुनुहुन्छ । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा नरवणेको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुहुनेछ । 

भ्रमणको पहिलो दिन भोलि कुनै औपचारिक कार्यक्रम भने राखिएको छैन । तर, काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा नरवणे अनौपचारिक भेटघाटमा ब्यस्त हुनुहुनेछ । भ्रमणको महत्वपूर्ण कार्यक्रम पर्सि बिहीबार सुरु हुनेछन् । 

नरवणेले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउनु हुनेछ । लगतै राष्ट्रपति विद्यादेवी भण्डारीसँग नरवणेले भेटवार्ता गर्नुहुनेछ । 

शितल निवासको कार्यक्रम अघि नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । लगतै उहाँले जङ्गी अड्डामा सैनिक गारत निरीक्षण गर्नुहुनेछ । समकक्षी थापासँग पनि नरवणेले भोलि नै औपचारिक भेटवार्ता गर्नुहुनेछ । यस्तै, नरवणेले बिहिबार नै जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग छलफल समेत गर्नुहुनेछ । 

नरवणेको सम्मानमा जंगी अड्डाले बिहीबार साँझ रात्री भोजको आयोजना गरेको छ । भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले शिवपुरीस्थित सैनिक स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्किनुहुनेछ । यसैबीच, नरवणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ । 

रेडियो कान्तिपुरसँग कुरा गदै सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले नरवणेको नेपाल भ्रमणले दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढीकरण गर्ने बताउनुभयो । 

नरवणेको नेपाल भ्रमणका क्रममा दुई देशबीचको सुरक्षा सहयोग सँग सम्बन्धित तेह्रौं दुई बैठकको सहमति अनुरुप स्वास्थ्य सामग्री हस्तान्तरणको कार्यक्रम पनि रहेको प्रवक्ता पौडेलले बताउनुभयो । यस्तै, भारतले पनि आफ्ना स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणले दुई देशका सेनाबीचको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित समाचार :

* नरवणेको नेपाल भ्रमण परम्पराको निरन्तरता : नेपाली सेना

* नरवणेको नेपाल भ्रमण : सम्बन्ध सुधार कि परम्पराको निरन्तरता

* भारतीय सेना प्रमुख नरावणे कार्तिक १९ गते नेपाल आउने


प्रतिक्रिया