पार्टी विभाजन भए दुबै अध्यक्ष जिम्मेवार : मुख्यमन्त्री गुरुङ

लमजुङको क्व्होलासोंथर गाउँपालिका पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : आश गुरुङ/रेडियो कान्तिपुर । 

कार्तिक २०, २०७७ | लमजुङ

नेकपा गण्डकी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी विभाजन भए यसको जिम्मा दुबै अध्यक्षले लिनुपर्ने बताउनु भएको छ । नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका मुख्यमन्त्री गुरुङले पार्टी विभाजनको मोडमा पुग्नुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुबैको कमजोरी रहेको बताउनुभयो । 

ओली र दाहालबीचको विवाद उत्कर्षमा पुगेको बेला मुख्यमन्त्री गुरुङको यो प्रतिक्रिया आएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिकास्थित घले गाउँमा बिहीबार पत्रकारसंग कुरा गर्दै उहाँले भन्नुभयो, ‘पार्टी फुट्ने र जुट्ने दुबै नेताको हातमा छ । दुबै जनाले नेपाली जनताको भविष्य हेर्नुपर्छ ।’ 

पार्टी जोगाउने भए एकले अर्कोलाई सहयोग गर्नुको विकल्प नभएको उहाँको भनाई थियो । ‘पार्टी एकतालाई कायम राख्न दुबै अध्यक्षको बराबरी भूमिका रहन्छ । एउटा अध्यक्ष (केपी) ले सरकार चलाउने र अर्को अध्यक्ष (पुष्पकमल) ले पार्टीमा ध्यान दिए कुनै विवाद हुँदैन । तर, दुबै अध्यक्षले एक अर्कोसंग समन्वय गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘दुबैले समन्वय र परामर्श नगर्दा अहिलेको स्थिति आएको हो ।’ 

मुख्यमन्त्री गुरुङले अलोकप्रिय निर्णय नगर्ने, चुस्त, दुरुस्त रुपमा बृहत एकतालाई ध्यानमा राखेर सरकार पुर्नगठनमा लाग्नुपर्ने बताउनुभयो । लामो समयदेखि थाँती रहेका राजदूत नियुक्ति, आयोग गठन, राजनीतिक नियुक्ति सहमतिमा गर्नुपर्ने उहाँको भनाई थियो ।

पार्टी अध्यक्षको जिम्मामा रहेका पुष्पमकल दाहालले पार्टी एकता र एकीकरणको बाँकी काम, जनसंगठन एकता छिटो गर्नुपर्ने भन्दै पार्टी सदस्यता अद्यावधिक गर्ने, नवीकरण गर्नतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिलेसम्म केन्द्रीय अनुशासन विभाग, सल्लाहकार परिषद्, जेष्ठ नागरिक संगठनका कामहरु भएको छैन । यो काम पार्टीको जिम्मा पाएको (पुष्पकमल) ले छिटो टुंग्याउनुपर्छ । अर्का अध्यक्ष (केपी) ले नेपाल सरकारको पुनर्गठन र नमिलेका कुरा मिलाउनु पर्छ । दुबैजना आ–आफ्नै ढंगले चलेमा पार्टीमा गम्भीर समस्या आउन सक्छ ।’ 

मुख्यमन्त्री गुरुङले अहिले प्रधानमन्त्रीले एकलौटी काम गरेको आरोप आईरहेको समयमा एकलौटी देखिने काम गर्न नहुने बताउनुभयो । एकलौटी देखिने कामलाई कुनै निष्कर्षमा पुर्‍याउन नहुने उहाँको भनाई छ ।

‘संसदीय दलमा भित्रभित्रै अविश्वासको प्रस्ताव ल्याउने कसरत भइरहेको र प्रदेश सभा संसदीय दलका पनि अविश्वासको प्रस्तावको प्रयत्न भइरहेको सुन्नमा आएको छ । यसले पार्टी बलियो हुँदैन । एकता हुँदैन’ उहाँले भन्नुभयो, ‘पार्टी जोखिममा परेमा र विभाजनको अवस्थामा पुगेमा यसको जिम्मा दुवै नेताले लिनुपर्छ ।’

स्थायी कमिटीको बैठकले निर्णय गरेको १५ बुादे सहमतिलाई कार्यान्वयनको विकल्प नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको प्रस्तावबाट दायााबायाा भएमा पार्टी एकता धरापमा पर्छ । धरापबाट बच्न दुई अध्यक्षको कार्य विभाजन भएको छ । दुबै अध्यक्षले एकले अर्कोलाई सहयोग र समन्वय गर्न सके पार्टी एकता जोगिन्छ ।’


प्रतिक्रिया