सुनसरीमा मङ्सिर ६ गतेसम्म निषेधाज्ञा जारी

कार्तिक २४, २०७७ | सुनसरी

तिहारको बेला हुन सक्ने भिडभाडलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार (आज) बाट लागू हुने गरी जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले मङ्सिर ६ गते मध्यरातिसम्म निषेधाज्ञा जारी गर्दै सो अवधिमा देउसी भैलो नाचगान लगायतमा प्रतिबन्ध लगाएको छ । 

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको, चाडबाडको बहानामा बजारमा भिडभाड बढेको भन्दै संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो निषेधाज्ञा अघिल्लो निषेधाज्ञाकै निरन्तरता हो । 

चाडबाडको बेला सर्वसाधारणले झन बढी भिडभाड गर्ने र त्यसबाट कोरोना संक्रमण थप बढ्न सक्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिएको हो ।’ प्रमुख जिल्ला अधिकारी पोखरेलले संक्रमण फैलिन नदिनका लागि सर्वसाधारणले निषेधाज्ञाको पालना गर्नु प्रमुख दायित्व र जिम्मेवारी भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘निषेधाज्ञा कार्यान्वयनका लागि मातहतका निकायहरुलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिईसकिएको छ ।’ जिल्ला प्रशासनले मन्दिर, शक्तिपीठ, पण्डालमा एक व्यक्तिले गर्ने पूजा बाहेक अन्य कार्य गर्न नपाउने, मस्जिद, गुम्बा, चर्चमा भेला र धार्मिक क्रियाकलाप गर्न नपाउने, भजन किर्तन अनुष्ठान, देउसी भैलो, जुवातास, मेला, जात्रा, शुभकामना आदान प्रदान, उद्घाटन शिलान्यास, पटाका पडकाउन रोक लगाएको छ । 


प्रतिक्रिया