पाल्पाको बर्तुङ-गुल्मी सडक दैनिक १३ घण्टा बन्द

पाल्पा बर्तुङ–गुल्मी सडक अन्तर्गत तानसेन काजीपौवा नजिकै सडक चौडा गरिंदै । तस्बिर : माधव अर्याल/रेडियो कान्तिपुर । 

कार्तिक २५, २०७७ | पाल्पा

पाल्पाको बर्तुङ–गुल्मी सडकखण्ड मंगलबार (आज) देखि दैनिक १३ घण्टा बन्द भएको छ । सडकको हार्थोकदेखि मालमुल हुँदै जोर्ते खण्डमा मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयो । 

डिभिजन सडकका अनुसार मंगलबारदेखि कार्तिक २७ गते बिहीबारसम्म सडक बन्द हुनेछ । यस्तैगरी मंसिर २ देखि १३ गतेसम्म पनि पुन: बन्द हुनेछ । बिहान ३ देखि ६, दिउँसो १२ देखि ४, बेलुकी ७ देखि ८ र राति ९ देखि १२ बजेसम्म सडक बन्द हुनेछ । 

अन्य समयमा भने सवारी आवागमन यथावत सञ्चालन हुने ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । कार्तिक २८ देखि मंसिर १ गतेसम्म तिहारको छुट्टी भएकाले काम नहुने डिभिजन सडकका सूचना अधिकारी खत्रीले बताउनुभयो । 

एम्बुलेन्स र अत्यावश्यक सवारीका लागि भने मिलाएर छाड्ने उहाँले बताउनुभयो । २०७६ पुसमा २०७७ असार मसान्तमा सक्ने गरी ठेक्का सम्झौता भएपनि कोभिडको कारण देखाउँदै मांसिर मसान्तसम्म म्याद थप भएको छ । पूरानकोट जलदेवी कन्ष्ट्रक्सन प्रालिले ठेक्का लिएको छ । 

४९ लाख रुपैयाँ बजेटमा हार्थोकदेखि रिडीसम्म ३५ हजार ५ सय ७६ घनमिटर घुम्तीमा माटो कटान गर्ने डिभिजन सडक कार्यालयले जनाएको छ । यस्तै, हार्ड रकम ६ हजार २ सय घनमिटर काट्नुपर्नेछ । सब–बेसको काम गर्ने भएपनि बेस र कालोपत्रेका लागि भने ठेक्का भइनसकेको सूचना अधिकारी खत्रीको भनाई छ ।


प्रतिक्रिया