सिद्धार्थ राजमार्ग भासिएपछि घण्टौ जामले हैरानी

मंसिर ३, २०७७ | पाल्पा

सिद्धार्थ राजमार्ग भासिएपछि सहज संचालन हुन नसक्दा घण्टौ जामले हैरानी खेप्नु परेको छ । तिनाउ गाउँपालिका–३, झुम्सा नजिकै सडक भासिएको हो । झुम्सादेखि पानीमिलसम्म सवारी साधनको लामो लाइन लागेको छ । बुटवलबाट पहाडी भाग र पहाडबाट तराई झरेका सवारी साधन घण्टौसम्म जामले हैरानी खेप्नु परेको स्थानीय कृष्णप्रसाद पाण्डेयले बताए ।

उनका अनुसार मंगलबार दिउँसो हल्का भासिएको सडकमा बुधबार बिहान थप भासिएपछि साना सवारी साधन संचालनमा कठिनाई भएको हो । वर्षायाममा भासिएको सिद्धार्थ राजमार्गको झुम्सा नजिकै पुन: सुख्यायाममा समेत भासिएको छ । सय मिटर क्षेत्रमा तिनाउ खोलातर्फ भासिएको छ । माथिल्लो भागबाटसमेत भासिएको र चिराचिरा परेकाले थप जोखिम हुने उनले बताए । यहाँ वर्षायाममा सडक भासिएपछि एकतर्फी यातायात संचालनमा थियो ।

डिभिजन सडक कार्यालयले भासिएको स्थानमा सडक मर्मत गरेको छैन । माथिल्लो भाग काटेर तल्लो भागमा ढुंगा माटो फाल्न मिल्ने स्थानमा समेत काम नगरेर बसेको स्थानीयको आरोप छ । चालक कृष्ण बहादुर रानाका अनुसार बुधबार दिउँसो भासिएको सडकमा चार घण्टादेखि जाममा फसेको गुनासो गरे । उनका अनुसार साना सवारी साधनलाई भासिएको स्थानमा ठूलो खाल्डो भएकाले संचालनमै समस्या भएको छ ।

प्रहरी कार्यालयले पनि भासिएको सडकमा खाल्डो परेकाले आवतजावतमा केही समस्या भएको जनाएको छ । प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मदन गिरीले साना सवारी साधन आवतजावतमा भएको समस्याले गर्दा जाम भएको बताए । उनले डिभिजन सडक कार्यालयको समन्वयमा बिहिबार बिहान खाल्डा पुर्ने र सुचारु गरिने छ । 

डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिवु खत्रीले भासिएको स्थानमा बिहिबार बिहानदेखि काम हुने बताए । सिद्धार्थ राजमार्ग भएर दैनिक १० हजार सवारी साधन संचालन हुन्छ । छोटो दुरीमा पोखरा लगायत पहाडी भेग जान सकिन्छ । राजमार्ग भएर पाल्पा, गुल्मी, बाग्लुङ र अर्घाखांचीका केही भाग, स्याङजा, पोखरा, पर्वत, म्याग्दी, मुस्ताङसम्मका यात्रु ओहोरदोहोर गर्छन् । 


प्रतिक्रिया