एआईजी बन्न प्रहरीका तीन डीआईजीबीच ‘अस्वस्थ’ प्रतिस्पर्धा सुरु

मंसिर ४, २०७७ | काठमाडौं

नेपाल प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) पद थपिएसँगै आकांक्षीहरुबीच अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । एक पदका लागि अहिले तीन जना डीआईजी प्रतिस्पर्धामा छन् । डीआईजी विश्वराज पोख्ररेल, सशकुल बहादुर थापा र धिरजप्रताप सिंह एआईजी बन्न शक्तिकेन्द्र धाईरहेका छन् । 

पोख्ररेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी, थापा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र सिंह प्रदेश २ प्रहरी प्रमुख छन् । डीआईजी पोख्रेल उपप्रधानमन्त्री इश्वर पोख्रेलले रुचाएका ब्यक्ति र उहाँ मार्फत नै लबिङ गरिरहनुभएको छ । 

यस्तै, डीआईजी थापा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपाका नेता गोकुल बाँस्कोटा र महेश बस्नेत मार्फत लबिङमा हुनुहुन्छ । कोरोना संक्रमणपछि डीआईजी सिंह अहिले महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्छ । तर, उहाँले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग नेता जनार्दशन शर्मा मार्फत लविङ तीब्र पार्नुभएको छ । 

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआईजी दरबन्दी थप्ने निर्णय गरेको थियो । हाल नेपाल प्रहरीमा प्राविधि सहित ३ एआईजी छन् । नयाँ दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा एआईजीको संख्या ४ पुगेको छ । 

केही दिनभित्रै एआईजीको बढुवा प्रकृया सुरु हुने गृह मन्त्रालय स्रोतको दाबी छ । यस्तै, एक एआईजीसँगै सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने निर्णय गरेको छ । हाल नेपाल प्रहरीमा ३ डीआईजीको दरबन्दी रिक्त छ । 

नयाँ थपिएको ५ दरबन्दी सहित ८ पदका लागि २० जना एसएसपी प्रतिस्पर्धामा छन् । गृह मन्त्रालयले पाँच डीआईजीको दरबन्दी थप्नुपर्ने रायसहितको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको थियो । तर, सरकारले एक एआईजीको दरबन्दी समेत थपेर गृहको प्रस्ताव स्वीकृत गरेको हो । 


प्रतिक्रिया