कोरोना संक्रमणको लक्षण सहितका बिरामीको नि:शुल्क स्वाब परीक्षण भइरहेको मन्त्रालयको दाबी

मंसिर ६, २०७७ | काठमाडौं

कोरोना संक्रमणको लक्षण सहितका बिरामीको नि:शुल्क स्वाब संकलन, परीक्षण र उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रेडियो कान्तिपुरसंग कुरा गर्दै लक्षण सहितका बिरामीको स्वाब संकलन गरेर कोरोना पोजिटिभ आए नि:शुल्क उपचार भइरहेको जानकारी दिनुभयो । बिरामीले भने सरकारी अस्पतालमा गएर उपचार गराउनुपर्ने उहाँको भनाई थियो । 

यसैबीच पछिल्लो समय कोरोना संक्रमणको अवस्था थप भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुले सुझाव दिदैं आएका छन् । जाडो मौसममा कोरोना संक्रमण बढ्न सक्ने भन्दै चिकित्सकले सामान्य रुघाखोकी, ज्वरो लागे नजिकको स्वास्थ्य संस्थामा गएर परामर्श लिन आग्रह गर्दै आएका छन् । 

काठमाण्डौं महानगरपालिकाले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब संकलन गर्ने तयारी गरेको छ । महानगरले दैनिक ५ सयका दरले पीसीआर परीक्षण गर्न मन्त्रालयसंग माग गरेको प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो । 


प्रतिक्रिया