झण्डै नौ महिनापछि दोलखाका विद्यालयमा पठनपाठन सुरु

मंसिर ७, २०७७ | चरिकोट

कोरोना भाइरसको महामारीका कारण बन्द रहेको दोलखाका विद्यालय झण्डै नौ महिनापछि आइतबार (आज) बाट सञ्चालनमा आएका छन् । कोरोनाको महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट बन्द भएका दोलखाका विद्यालयहरु स्वास्थ्य मापदण्ड पालना गराएर आजबाट खुलाएका हुन् । 

शिक्षा समितिको बैठकले स्वास्थ्य सावधानी पालना गरेर विद्यालय खुल्न अनुमति दिएसँगै दोलखाका सामुदायिक र संस्थागत विद्यालय सञ्चालनमा आएका छन् । विद्यालय सञ्चालनसँगै रोकिएको भर्ना अभियान पनि सुरु गरिएको छ । लामो समयपछि खुलेका विद्यालयमा पहिलो दिन खासै विद्यार्थीको चहल पहल भने थिएन । संस्थागत विद्यालयमा विद्यार्थीको बाक्लो उपस्थिति भएपनि केही सामुदायिक विद्यालयले तयारी नपुगेको भन्दै अझै विद्यालय खुलाएका छैनन् ।

 सदरमुकामकै विद्यालयमा ज्वारो नाप्ने मेसिन, स्यानिटाइजर, हात धुने स्थान बनाउन समय नपुगेकाले कतिपय सामुदायिक विद्यालय सोमबारबाट खुल्ने भीमेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले जानकारी दिनुभयो । संस्थागत विद्यालयहरुले भने स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरेका छन् । 

शिक्षा समितिले दिएको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालनमा ल्याएको त्रिपुरा ग्लोरियस एकेडेमीका प्रधानाध्यापक तकदिर केसीले जानकारी दिनुभयो । यस्तै, दोलखाका संस्थागत विद्यालयहरुले अध्यापन नभएको समयको मासिक शुल्क नलिने भएका छन् ।


प्रतिक्रिया