चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक सक्रियता बढ्यो

मंसिर ८, २०७७ | काठमाडौं

सत्तारुढ नेकपाको शीर्ष नेतृत्वमा देखिएको विवादबीच चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक सक्रियता बढेको छ । 

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा दोस्रो तहका अन्य नेतासँग पनि उहाँको भेटवार्ता बाक्लिएको हो । राजदूत यान्छीले आज पनि अध्यक्ष दाहाललाई ललितपुरको खुमलटारस्थित उहाँकै निवासमा पुगेर भेटवार्ता गर्नुभएको छ । 

भेटमा दुई देश र पार्टीबीचको सम्बन्धका विषयमा कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ । यसअघि पनि नेकपामा विवाद बढ्दा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो । नेकपामा गत असार यता विभिन्न विषयलाई लिएर विवाद भइरहेका बेला उहाँले अध्यक्षद्धय सहित बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । 

नेपालको आन्तरिक मामला तथा अमुक दलको आन्तरिक मामिलामा राजदुत यान्छीले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी भेटवार्ता अघि बढाएको राजनीतिक वृत्तमा टिप्पणी हुन थालेको छ ।


प्रतिक्रिया