साढे ५ वर्षपछि बल्ल क्षतिग्रस्त दमकल भवनको शिलान्यास

भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित जुद्ध बारुण यन्त्र भक्तपुरको क्षतिग्रस्त भवन शिलान्यास गर्दै । तस्बिर: लीला श्रेष्ठ/रेडियो कान्तिपुर । 

मंसिर १५, २०७७ | भक्तपुर

२०७२ बैशाखको भूकम्पले क्षतिग्रस्त भक्तपुरको एकमात्र जुद्ध बारुण यन्त्र (दमकल) को कार्यालय भवनको बल्ल पुनर्निमार्णका लागि शिलान्यास भएको छ । सोमबार जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलाल, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कार्यकारी निर्देशक श्यामकिशोर सिंह लगायतले भवन पुनर्निर्माणका लागि शिलान्यास गर्नुभयो । 

भवन ब्लक ‘ए’ र ‘बी’ गरेर तीन तले भवन बन्ने छ । ४ वटा फायर ब्रिगेड गाडी अट्ने ठाउँ, सभाहल, कार्यकक्ष, पार्किङस्थल लगायतको संरचना बन्ने जुद्ध बारुण यन्त्र भक्तपुर प्रमुख सुरज निरौलाले बताउनुभयो । 

भूकम्पका कारण क्षतिग्रस्त भवन पुनर्निर्माणको लागि सीएम/नव सिर्जनशील/जेभीसँग २०७७ साउनमा सम्झौता भई २१ महिना अर्थात, २०७९ बैशाखमा सम्पन्न हुने गरी पुनर्निर्माणको थालनी भएको निरौलाले बताउनुभयो । 

सो भवन शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय भक्तपुर मार्फत पुनर्निर्माणका लागि ठेकेदार कम्पनीसँग ६ करोड २६ लाख ४९ हजार ८ सय ११ रुपैयाँमा सम्झौता गरेको उहाँले बताउनुभयो ।

क्षतिग्रस्त भवनबाटै करीब साढे ५ वर्ष कार्यालय सञ्चालन गर्दै आएको थियो । २००१ सालमा भक्तपुरमा दमकल कार्यालय स्थापना भएको हो । स्थापना कालदेखि भोगचलन गर्दै आएको भएपनि जग्गा आफ्नो नाममा नहुँदा दमकल कार्यालयको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्यौलमा परेको थियो । 

जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका सूचना अधिकृत विजय प्रसाद द्यौभडेलका अनुसार साविक भक्तपुर नगरपालिका–१७ दूधपाटीको २२७ कित्ताको ९५ रोपनी सार्वजनिक जग्गा २०४० असोजमा ‘सैन्य तालिम केन्द्र’ को नाममा नामसारी भयो । 

हालको भक्तपुर नगरपालिका–१, दुधपाटी स्थित सैनिक आवासीय महाविद्यालयको पूर्वपट्टिको पर्खालसँगै जोडिएको ‘सैन्य तालिम केन्द्र’को ३ रोपनी ७ आना २ पैसा क्षेत्रफल जग्गा दमकलको कार्यालयले ओगटी भोगचलन गर्दै आएको छ । ‘सैन्य तालिम केन्द्र’ले जुद्ध बारुण यन्त्रलाई ३० वर्षको लागि जग्गा लिजमा दिएपछि क्षतिग्रस्त भवन पुनर्निर्माणको बाटो खुलेको हो ।

जुद्ध बारुण यन्त्र कार्यालयले दुई वटा दमकल मार्फत सेवा पुर्‍याउँदै आएको छ । पुरानो एकमात्र दमकलबाट सेवा पुर्‍याउँदै आएको कार्यालयलाई मध्यपुर थिमि नगरपालिकाले दमकल हस्तान्तरण गरेको छ । 

दमकल सञ्चालनको लागि पर्याप्त जनशक्तिको समेत अभाव भएको निरौलाले बताउनुभयो । कार्यालयमा ३२ कर्मचारी दरबन्दी मध्ये २३ कर्मचारी कार्यरत छन् । अग्नि नियन्त्रकले पाउने जोखिम भत्ता, जीवन बीमा लगायत अन्य भत्ताबाट भक्तपुरका अग्नि नियन्त्रक वञ्चित भएको उहाँको भनाई छ ।


प्रतिक्रिया