सल्यानका ६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास

सल्यानको छत्रेस्वरी गाउँपालिका–४ लेखपोखराको प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैय्याको अस्पतालको शिलान्यास गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र साथमा पालिका अध्यक्ष सनतोष केसी । तस्बिर : विप्लव महर्जन /रेडियो कान्तिपुर ।  

मंसिर १५, २०७७ | सल्यान

स्वास्थ्य सेवालाई सहज बनाउने उद्देश्यका साथ सल्यानका १० मध्ये छ वटा स्थानीय तहमा सोमबार १५ शैय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । दार्मा, कुमाख, कपुरकोट, छत्रेस्वरी, सिद्धकुमाख गाउँपालिका, बन्गाड कुपिण्डे नगरपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको हो । 

दार्मामा प्रतिनिधि सभा सासंद टेकबहादर बस्नेत, कुमाखमा टेकबहादुर बस्नेत, छत्रेस्वरीमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कपरकोटमा अध्यक्ष भीम बहादर सेन, कालीमाटीमा अध्यक्ष दान बहादुर खत्री, बन्गाड कुपिण्डे नगरपालिकामा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले पूजाआजा गरी अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

जिल्लाका आठ स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माणका लागि सरकारले ३४ करोड रुपैयाँ विनियोजन गरेकोमा कालीमाटी गाउँपालिका र बाग्चौर नगरपालिकामा प्राविधिक समस्याका कारण सोमबार अस्पताल भवनको शिलान्यास गर्न नसकिएको प्रमुखहरुले बताएका छन् । कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले जग्गा पास नभएकाले र कोरोनाका कारण कार्यालय सिल गरिएकाले समयमै अस्पताल भवनको शिलान्यास गर्न नसकिएको बताउनुभयो ।

छत्रेस्वरी गाउँपालिका–४ प्राथमिक स्वास्थ्य केन्द्र लोखपोखरा, कपुरकोट गाउँपालिका–३ पाखापानीमा दार्माको रातामाटामा बन्गाड नगरपालिकाको देवस्थल, सिद्धकुमाख गाउँपालिकाको ढोडचौरमा अस्पताल निर्माण गर्न थालिएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । स्थानीय तहमा अस्पताल बनेपछि पालिका भित्रका सर्वसाधारणलाई उपचारको लागि बाहिर जान नपर्ने उनीहरुको भनाई छ । अस्पताल भवनको शिलान्यासपछि स्थानीय हर्षित भएका छन् । 


प्रतिक्रिया