जैविक मल बिक्दैन, रसायनिक खोसाखोस

मंसिर २३, २०७७ | रुपन्देही

व्यावसायिक कृषिमा अगाडि रहेको रुपन्देहीमा रसायनिक मलको माग बढेको बढ्यै छ । कृषि सामाग्री कम्पनी लिमिटेडले मलको माग पुर्याउन सक्दैन । तर, त्यही कम्पनीले ल्याएका जैविक मल भने बिक्री भएका छैनन् । बेच्न ल्याएको मल समेत खपत नभएपछि २ वर्षयता जैविक मल बेच्नै छोडेको छ । माटोको उर्भराशक्ति बढाउन ल्याएको कृषि चुनसमेत कार्यालयमा त्यत्तिकै थन्किएको संस्थानका भैरहवा प्रमुख पुष्यप्रसाद घिमिरेले बताउनुभयो ।

जैविक मल रसायनिकको तुलनामा सस्तो छ । कृषि प्राविधिकहरुका अनुसार यसले उत्पादन क्षमता र माटोको उर्भराशक्ति दुवै बढाउछ । माटोमा सुक्ष्म जीव र प्रांगारिक श्रोत बढाउछ । यही कारण सरकारले विषादी निरुत्साहित र प्रांगारिक उत्पादनमा जोड दिने नीति लिएको छ । 

नीति अनुसार जैविक मल उत्पादन र प्रांगारिक खेतीका लागि बजेट विनियोजन गर्दै आएको छ । तर, जैविक मल उत्पादन र बजारीकरणमा सरकारी ध्यान छैन । प्रयोगप्रति किसानलाई सचेत समेत बनाइएको छैन । जसले स्वदेशमै उत्पादन हुने जैविक मलको प्रयोगमा किसानको ध्यान नगएको तिलोत्तमा नगरपालिकाका व्यावसायिक किसान पन्नेलाल केवटले बताउनुभयो ।

कृषि मन्त्रालयका अनुसार देशभर करिब ५० वटा जैविक मलका कारखाना छन् । तर, यिनले कति मल उत्पादन गर्छन्, तिनको लेखाजोखा समेत सरकासंग छैन । विगतमा कृषि सामग्री कम्पनी लिमिटेडबाट जैविक मल वितरण हुन्थ्यो । टेन्डर फ्रक्रियाबाट खरिद गरेर किसानलाई बित्री वितरण गरिन्थ्यो । अहिले जिल्लास्तरबाट मागका आधारमा वितरण हुन्छ । 

रुपन्देहीको कोटीहवामामा जैविक मल उत्पादन गरिरहेका अमृत श्रेष्ठले व्यावसायिक खेतीबारे सिकाउने प्राविधिकहरुले किसान समूहबीच समेत रसायनिक मलको बयान गरेर जाने भएकाले किसानको ध्यान जैविक मलमा नगएको दावी गर्नुभयो ।


प्रतिक्रिया