दाहाल–नेपाल समूहद्वारा ओलीमाथि कारवाही प्रक्रिया शुरु

माघ ५, २०७७ | काठमाडौं

नेकपाको दाहाल–नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्न प्रक्रिया अघि बढाएको छ । गत शुक्रबारको स्थायी कमिटी बैठकको निर्णय अनुसार सो समूहले ओलीलाई साधारण सदस्यबाट पनि हटाउने उद्धेश्यसहित आज स्पष्टिकरण सोधेको हो । शुक्रबार बसेको सो समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत रहेका ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । स्पष्टिकरण पत्र ओलीको सचिवालयमा दर्ता भएको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य पाण्डेले जानकारी दिनुभयो । स्पष्टिकरण पत्रमा पत्र प्राप्त भएको वा निवासमा टाँस गरिएको तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ । 

पार्टीको अन्तरिम विधान अनुसार अनुशासन उल्लङ्घन गरेको भन्दै पुष ७ गते बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । पार्टी अध्यक्षबाट हटाएपछि पनि आफुलाई पार्टी अध्यक्ष कै रुपमा सार्वजनिक कार्यक्रममा प्रस्तुत गरेकाले स्थायी कमिटी बैठकबाट साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने सो समूहले तयारी गरेको हो । 


प्रतिक्रिया