शव सुरक्षित राख्न वीपी प्रतिष्ठानमा संतृप्त घोल प्रविधि प्रयोगमा

वीपी प्रतिष्ठानमा संतृप्त घोल प्रविधि प्रयोग गरी चार महिनादेखि सुरक्षित राखिएको शव । तस्बिर : प्रदीप मेन्याङबो/रेडियो कान्तिपुर । 

फाल्गुन २३, २०७७ | सुनसरी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनाटोमी विभागले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मृत शरीर सुरक्षित राख्ने संतृप्त घोल (स्याचुरेटेड साल्ट सोल्युसन) प्रविधि तयार गरेको छ । चिकित्साशास्त्र अध्ययन अनुसन्धान गर्न र शल्यक्रिया गर्न अनिवार्य चाहिने शवलाई सो प्रविधि प्रयोग गरी लामो समयसम्म र अत्यन्तै कम रासायनमा सुरक्षित राख्न सकिने भएको छ । 

नेपालमा शव सुरक्षित राख्ने यस्तो प्रविधि पहिलो पटक प्रतिष्ठाले प्रयोगमा ल्याएको हो । यसअघि शव सड्नबाट जोगाउन अत्यधिक मात्रामा फर्मालिन र अन्य रासायनिक तत्व प्रयोग गरी शव राख्ने गरिएको थियो । एनाटोमी विभागका एशोसिएट प्रोफेसर डा. प्रभाकर यादवका अनुसार सो प्रविधिको परीक्षण गत मंसिरदेखि गरिएको थियो । 

शवमाथि संतृत्प घोल प्रविधि सफल भएपछि शुक्रबारदेखि प्रयोगमा ल्याउन थालिएको हो । संतृप्त घोलमा पानी, नुन र शून्य दशमलव ८ प्रतिशत फर्मालिन र अन्य केमिकल प्रयोग हुन्छ । डा.यादवका अनुसार सो घोल शवमा हालेर कम्तिमा एक वर्षसम्म शवलाई सुरक्षित राख्न सकिन्छ । शव सुरक्षित राख्न सक्नु भनेको एउटै शवबाट धेरै भन्दा धेरै चिकित्साशास्त्रका विद्यार्थीले अध्ययन अनुसन्धान र शल्यक्रिया गर्न अवसर पाउनु हो ।

डा यादवले भन्नुभयो, ‘चिकित्शा शास्त्र अध्ययन अनुसन्धान गर्न मानव अंग, हाड, नसाहरुबारे सूक्ष्म रुपमा अध्ययन गर्नुपर्छ । त्यसका लागि शव अनिवार्य चाहिन्छ । शव भएर मात्र भएन त्यसलाई सुरक्षित राख्न धेरै मेथोड छन् । त्यसमध्ये यो पछिल्लो मेथोड हो । जुन आधुनिक भएपनि कम खर्चिलो छ ।’ 

डा. यादवले अन्य मेथोडमा राखिएको शवमा फर्मालिनको मात्रा अधिक रुपमा प्रयोग हुने र त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले विश्वका अधिकांश ठूला मेडिकल कलेज र अस्पतालले संतृत्प घोल प्रविधि प्रयोगमा ल्याइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संतृप्त घोल प्रयोग गरी राखिएको शवलाई कोठाको सामान्य तापक्रममा पनि भण्डारण गर्न सकिन्छ । अरु मेथोड प्रयोग भएका शवलाई महँगो र अत्याधुनिक उपकरणहरुको आवश्यकता पर्छ । यसर्थ यो नयाँ मेथोडले भण्डारण खर्च घटाउने छ ।’ 

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले नेपालको चिकित्सा विज्ञानमा यसअघि ‘फ्रेस’ र ‘ड्राइ क्याडेभर’ को प्रयोग मात्र हुने भएकोमा प्रतिष्ठानले ‘सफ्ट क्याडेभर’ को सम्भावनाको खोजी गरेकोमा सफलता मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिकित्सा विज्ञानमा नयाँ प्रविधिको विकास भएसँगै त्यसलाई अपनाउने गरिएको छ । 

सोही अवधारणा अनुसार प्रतिष्ठानमा पनि सफ्ट क्याडेभरको प्रयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार गरिएकाले नेपाल लगायत अन्य राष्ट्रका सर्जनलाई प्रशिक्षणको लागि निम्त्याएर प्रतिष्ठानको आम्दानीमा वृद्धि गर्न सकिनेछ ।’ उहाँले यसको प्रयोग एमबीबीएस र पोस्ट ग्राजुएटका विद्यार्थीले अध्ययनका लागि प्रयोग गर्न सक्ने बताउनुभयो । उहाँका अनुसार विश्वका स्थापित र प्रतिष्ठित मेडिकल युनिभर्सिटीमा सफ्ट क्याडेभरमा सर्जरी प्रशिक्षणको लागि महँगो शुल्क तिर्नुपर्ने हुन्छ ।

सो अवसरमा नयाँ प्रविधि प्रयोग गरेर चार महिनादेखि सुरक्षित राखिएको सफ्ट क्याडेभरमा हाडजोर्नी विभागका एशोसिएट प्रोफेसर डा. विष्णु पोखरेलले प्रत्यक्ष रुपमा चिरफार गरेर देखाएका थिए । सफ्ट क्याडेभर चिरफार गर्दा र हेर्दा अप्रेशन थिएटरमा जिवित व्यक्तिको सर्जरी गरे जस्तै हुने, जोर्नी चलायमान हुनाले जटिल शल्यक्रिया गर्नुपूर्व सफ्ट क्याडेभरमा शल्यक्रियाको अभ्यास गरी बिरामीमा शल्यक्रियामा गर्दा त्रुटि हुने सम्भावना न्यून हुने उहाँले बताउनुभयो ।


प्रतिक्रिया