सिंहदरबारभित्र कार्यरत नायब सुब्बाहरु आन्दोलित

वैशाख २, २०७८ | काठमाडौं

संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायब सुब्बाहरु आन्दोलित भएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसद्मा पुगेको संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था भएको भन्दै उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् । 

ऐनको व्यवस्था अनुसार नायब सुब्बामाथि अन्याय भएको उनीहरुले बताएका छन् । राजपत्र अनङ्कित तृतीय श्रेणीको पदपूर्तिमा ३० प्रतिशत बढुवा कायम गरिनुपर्ने, रिक्त पदमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्वितिय श्रेणीको खुला विज्ञापनमा राजपत्र अनङ्कित कर्मचारीको अनुभवलाई पनि मान्यता दिनुपर्ने उनीहरुको माग छ । 

प्रस्तावित निजामती सेवा ऐनले कर्मचारीको मनोबल घटाउने मात्र नभई हित विपरीत भएकोले सो ऐनको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिएको नायब सुब्बा लक्ष्मीप्रसाद शर्माले बताउनुभयो । प्रस्तावित ऐनमा कर्मचारीमैत्री निजामति सेवा नभएको उहाँको भनाई थियो । 

प्रस्तावित ऐनले कर्मचारीको वृत्ति विकास, सेवा, सुविधा र अवसरलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागि नायब सुब्बा लक्ष्मण गुरागााईले बताउनुभयो । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका केही नायब सुब्बालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने नायब सुब्बाहरुले बताएका छन् ।


प्रतिक्रिया