नारायणी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

वैशाख २, २०७८ | पर्सा

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२ छपकैंया निवासी ४२ वर्षीया महिलाको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । 

उनी गत चैत २९ गते राति ८ बजे अस्पतालमा भर्ना भएकी थिईन । अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासका अनुसार, अस्पताल भर्ना भएकै दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । 

कडा खालको निमोनियाले ग्रस्त उनलाई श्वासप्रश्वासमा समस्या भएपछि नारायणी अस्पतालमा उपचार भईरहेको थियो । अस्पतालको आईसीयूमा उपचाररत अन्य ३ जना कोरोना संक्रमितलाई पनि श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । 

गत चैतको दोश्रो सातादेखि अस्पतालमा कोरोना संक्रमित बिरामी उपचारार्थ आउन थालेका हुन् । यस क्रममा अस्पतालमा उपचारका लागि १७ संक्रमित भर्ना भएकोमा ती मध्ये ३ कोरोना संक्रमितको मृत्यु भई सकेको छ । ११ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । 

अस्पतालको आईसीयू र एचडीयू कक्षको क्षमता ३० देखि ३५ जना सम्मको भएकाले तत्कालै संक्रमितको उपचारमा समस्या नरहेको डा. दासको भनाई छ । ‘अहिले संक्रमितको उपचारमा समस्या भई सकेको छैन,’ उहाँले भन्नुभयो, ‘हामीसँग आईसीयू र एचडीयू कक्षमा गरी ३० देखि ३५ संक्रमितलाई भर्ना गरेर उपचार गर्ने क्षमता छ ।’ 

कोरोनाको दोश्रो लहर सुरु भएयता जिल्लामा संक्रमितको संख्या २ सय भन्दा बढी भई सकेको छ । यस्तो अवस्थामा हाल करीब २ सय संक्रमित होम आइसोलेशनमा रहेको नारायणी कोभिड अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि गम्भीर खालका संक्रमितलाई मात्र अस्पतालको आईसीयू र एचडीयू कक्षमा भर्ना गरेर उपचार गर्न निर्देशन दिएकाले अस्पतालमा संक्रमितको भिड नलागेको उहाँले बताउनुभयो । 

अस्पतालमा गम्भीर खालका संक्रमितलाई मात्र भर्ना गरी उपचार भई रहेको उहाँले बताउनुभयो । होम आइसोलेशनमा बस्ने संक्रमितहरुले आवश्यक सावधानी अपनाएर घरमै बस्दा पनि समस्या नहुने उहाँको भनाई छ । 


प्रतिक्रिया