बागमती प्रदेशसभाको बैठक फेरि अवरुद्ध

वैशाख २, २०७८ | मकवानपुर

बागमती प्रदेशको प्रदेश सभा बैठक फेरि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउण्डेसनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै आज पनि बैठक सञ्चालन गर्न नदिएको हो । 

माओवादी केन्द्रका सांसदले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नु भएको हो । माओवादी केन्द्रका सांसदले सदन अवरुद्ध गरेको यो लगातार चौंथो पटक हो । 

माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले आफूहरुको माग पूरा नभएसम्म सदन सञ्चालन गर्न नदिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्युतीय बस सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भएको छैन । यस्तो अवस्थामा बस सञ्चालन गर्न सकिँदैन । तत्काल यो बस खरिद प्रक्रिया रोक्न जरुरी रहेको छ ।’ 

माओवादीको मागमा नेपाली कांग्रेस, विवेकशील साझा तथा अन्य साना दलहरुको समेत समर्थन रहेको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक एक घण्टापछि सुरु भएको थियो ।


प्रतिक्रिया