सुनसरीमा कोरोना संक्रमित बढ्दै, इनरुवाका विद्यालय बन्द

वैशाख ५, २०७८ | सुनसरी

सुनसरीमा पछिल्लो एक महिना यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार नेपाल–भारतबीच खुला सिमाना भएकाले संक्रमितको संख्या बढेको हो । 

उहाँले भन्नुभयो, ‘सीमामा आवतजावतमा कडाइ गरिएको छ । तर खुला सिमाना भएकाले सबैतिर आवतजावतमा नियन्त्रण गर्न सकिएको छैन । भण्टाबारी नाकामा हेल्प डेस्क राखिएको छ । तरपनि लुकिछिपि आइहाल्छन् ।’ 

भारतमा कोरोना संक्रमणको दोस्रो लहर सरु भएसँगै रोजगारीमा गएकाहरु फर्केर आउने क्रम जारी रहँदा सुनसरीमा पनि संक्रमितको संख्या बढेको हो । प्रजिअ ढकालले भन्नुभयो, ‘पछिल्लो समय सुनसरीमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । संक्रमितको संख्या बढेकाले विद्यालय, हाटबजार, भेला हुने कार्यक्रम बन्द गर्न स्थानीय तहलाई जिम्मा दिइएको छ । त्यसका लागि हामीले समन्वय गर्दैछौं ।’ 

जिल्लामा सबै भन्दा बढी इटहरी उपमहानगरपालिकामा १५ जना, इनरुवा नगरपालिकामा ५ जनाकोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले बताउनुभयो । संक्रमितको संख्या बढेसँगै आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि इनरुवा नगरपालिकाले सबै विद्यालय बन्द गरेको छ । 

नगरपालिकाले विद्यार्थीमा कोरोना संक्रमण हुन थालेको र संक्रमण समुदायस्तरमा फैलिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको इनरुवाका नगर प्रमुख राजन मेहेताले बताउनुभयो । इनरुवा–५ बलाहास्थित नवयुग बोर्डिङ स्कूलमा अध्ययनरत १३ वर्षीय एक बालकमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य विद्यालय पनि बन्द गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिश्रीलाल मेहताले बताउनुभयो ।

उहाँका अनुसार ती बालकका आमा र बाबु दुबै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बालकलाई पनि उच्च ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनीहरु सबै होम आइसोलेशनमा बसेका छन् ।

आफ्नो क्षेत्रमा कोरोना संक्रमणको जोखिमको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहहरुलाई दिएपनि सुनसरीका इनरुवा बाहेक अन्य ११ स्थानीय तहले भने हालसम्म कुनै निर्णय गर्न सकेका छैनन् । 

सीमावर्ती जिल्ला भएपनि धरान, इटहरी, बराहक्षेत्र, रामधुनी, दुहवी, कोशी, बर्जु, देवानगन्ज, हरीनगरा, भोक्राहा र गढी लगायतका स्थानीय तहले भने विद्यालयका बालबालिकामा कोरोना संक्रमण भएको देखिएपछि मात्र बन्द गर्ने बताएका छन् ।

इटहरी उमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र सीमावर्ती क्षेत्रको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले सरोकारवालासँग समन्वय गरेर विद्यालय बन्द गर्ने/नगर्ने विषयमा छलफल भईरहेको बताउनुभयो । 


प्रतिक्रिया