वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितको चाप

 तस्बिर : प्रदिप मेन्याङ्बो, रेडियो कान्तिपुर ।

वैशाख ५, २०७८ | सुनसरी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । करीब दुई महिनासम्म खाली जस्तै रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा एकसाता यता संक्रमितको चाप बढ्न थालेको हो । 

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार करीब दुई महिनासम्म खाली देखिएका अस्पतालका शय्या, आईसीयू, एचडीयू बेडहरुमा संक्रमित भर्ना हुन थालेका छन् ।

उहाँले भन्नुभयो, ‘भारतमा देखिएको कोरोनाको दोश्रो लहरसँगै यहाँ पनि त्यसको असर देखिन थालेको छ । शनिबार मात्र दुई महिला र दुई पुरुष भर्ना भए । यसअघि अस्पतालमा दुई जना मात्र भर्ना भएका थिए ।’ 

उहाँका अनुसार प्रतिष्ठानमा १५ आइसीयू, २५ हाइ डिपेन्डेन्सी युनिट –एचडीयू) र ६० जनरल बेड रहेकोमा हाल ६ जना उपचाररत छन् । ती मध्ये ३ जना आइसीयूमा भर्ना भएका छन् भने २ जना एचडीयूमा र एक जना जनरल बेडमा भर्ना भएका छन् ।

डा पोखरेलले भन्नुभयो, ‘चैतदेखि हालसम्ममा कोभिड अस्पतालमा १४ जना भर्ना भएका थिए । ती मध्ये ३ जना डिस्चार्ज भएका छन् भने ६ जनामा कोरोना संक्रमणसँगै अन्य रोग पनि देखिएकाले थप उपचारका लागि प्रतिष्ठानको अन्य विभागमा रिफर गरिएको छ ।’ 

डा. पोखरेलले गम्भीर भएर उपचारका लागि आउने मध्ये सय जना संक्रमितलाई थेग्ने गरी सबै मेडिकल जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँका अनुसार सबै शय्यामा अक्सिजन आपूर्तिका लागि प्रतिष्ठानको अक्सिजन प्लाण्टबाटै जोडिएको अक्सिजन पाइपलाइन जोडिएको छ । सुरुआती समयमा अक्सिजन अभावले कतिपय संक्रमितहरुले ज्यान गुमाएका थिए । 


प्रतिक्रिया