झाडापखालाका कारण दिदी बहिनीको मृत्यु

वैशाख १३, २०७८ | दाङ

दाङको राजपुर गाउँपालिका ६ खांग्रा नाकामा झाडापखालाका कारण एकै परिवारका २ जनाको मृत्यु भएको छ ।

समयमै उपचार नपाउँदा खांग्राकी ११ बर्षीया रिता बुढा मगरको र उनकी दिदी १३ बर्षीया बिनिता बुढा मगरको मृत्यु भएको हो । रिताको शनिबार राती र बिनिताको हिजो विहान मृत्यु भएको हो । विनिता स्थानीय बाल कल्याण माविमा ६ कक्षा र रिता ४ कक्षामा अध्ययनरत थिए । 

शुक्रबार विद्यालयबाट फर्कने क्रममा स्थानीय खोलाबाट ल्याएको माछा खाएपछि उनीहरुमा झाडापखाला शुरु भएको थियो । खांग्रा नाका नेपाल भारत सिमा क्षेत्रमा पर्छ । त्यहाँबाट गाउँपालिकास्थित स्वास्थ्यचौकी पुग्न सडक र यातायातको पहुँच छैन । करिव ४ घण्टा पैदल हिडेर मात्रै स्वास्थ्य चौकी पुगिन्छ । भारतमा नाका बन्द भएका कारण आवतजावत गर्न समस्या छ ।


प्रतिक्रिया