धरानको वीपी प्रतिष्ठानमा उपचाररत २ संक्रमितको मृत्यु

वैशाख १६, २०७८ | सुनसरी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार सप्तरीका २४ वर्षीय पुरुष र धनुषाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो । 

बैशाख ९ गते संक्रमण पुष्टि भएपछि १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका सप्तरीका पुरुष मधुमेहका रोगी थिए । उनको आइसीयूमा उपचार भईरहेको थियो । धनुषाका ६० वर्षीय पुरुष बैशाख १० गते अस्पताल भर्ना भएका थिए । 

कोभिड अस्पतालमा भर्ना भएलगतै प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । प्रतिष्ठानको आइसीयूमा अहिले ३३ जना कोरोना संक्रमतिको उपचार भईरहेको छ । ती मध्ये १० जनाको आइसीयूमा र १८ जना एचसीयूमा उपचाररत छन् । 

प्रतिष्ठानमा १० आइसीयू, २५ हाइडिपेन्डेन्सी (एचडीयू) बेड र ६५ आइशोलेसन बेड रहेको छ । पछिल्लो २४ घण्टामा थपिएका दुई सहित प्रतिष्ठानको कोभिड अस्पतालमा पछिल्लो एक सता यता ७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म १ सय २७ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया