वीपी प्रतिष्ठानमा बेड अभाव, कोरोना संक्रमितको बिचल्ली

वैशाख २५, २०७८ | सुनसरी

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बेड अभाव भएपछि कोरोना संक्रमितको बिचल्ली भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा बेड अभाव भएपछि झापा र उदयपुरबाट उपचारका लागि ल्याइएका कोरोना संक्रमितलाई अन्यत्र रेफर गरिएको छ । 

प्रतिष्ठानको कोभिड फोकल पर्सन डा. इन्द्र लिम्बुका अनुसार आइसीयू, एचडीयू र जनरल बेड भरिएकाले अन्यत्र पठाउन बाध्य भएको हो । उहाँले भन्नुभयो, ‘कोभिड अस्पतालमा बेड पाउनका लागि कि बिरामी डिस्चार्ज हुनुपर्ने कि मर्नुपर्ने अवस्था छ । स्थिति भयावह बन्दै गएको छ । कसरी व्यवस्थापन गर्ने हो केही भन्न सक्ने अवस्था नै छैन ।’

प्रतिष्ठान भित्रकै कोही चिकित्सक नर्स कोरोना संक्रमण भएरको खण्डमा आइसीयू, एचडीयू बेड नपाउने अवस्था रहेको प्रतिष्ठानको कोभिड फोकल पर्सन डा. लिम्बुले बताउनुभयो । सरकारले प्रतिष्ठानको कोभिड अस्पताललाई कोरोना संक्रमणबाट गम्भीर भएका बिरामी उपचार गर्ने लेवल थ्रीको रुपमा निर्माण गरेको हो । तर पूर्व तयारी र व्यवस्थापनमा ढिलाई, बजेट अभावका कारण सय बेडको अस्पताल भनिएपनि आइसीयू, एचडीयू बेड सबै दुरुस्त नभएको प्रतिष्ठान स्रोतले जनाएको छ । 

प्रतिष्ठानको आफ्नै अक्सिजन प्लाण्ट भएपनि कोभिड अस्पतालमा राखिएका सबै बेडमा अक्सिजन पुर्‍याइएको छैन । एक चिकित्सकले भने, ‘कोभिड अस्पतालका केही भेन्टिलेटर र एचडीयू बेड बिग्रेका छन् । बनाउनका लागि प्राविधिक कोभिड अस्पतालमा प्रवेश गर्नुपर्छ । तर कोरोना संक्रमण हुने डरले प्राविधिक नजाँदा ती बिग्रेका बेड बनाउन सकिएको छैन ।’

१० वटा आइसीयू बेड भएपनि हाल ६ वटा मात्र भेन्टिलेटर सञ्चालनमा रहेको ती चिकित्सकले बताए । २५ बेड एचडीयू भएपनि सबैमा डिफ्रिविलेटर जडान गरिएको छैन । डिफ्रिविलेटरको काम एचडीयू बेडमा रहेका बिरामीको मुटुको चाल अचानक बन्द भए करेन्ट पास गराएर पुन: मुटुको चाल फर्काउन मद्दत गर्ने हो । 

एचडीयू बेड आपूर्ति गर्ने ठेक्का पाएको नवराज बस्नेतको नाममा रहेको जनमुखी सप्लायर्सले डिफ्रिविलेटर बिनाको एचडीयू बेड जडान गरिदिएपछि उपचार प्रभावकारी नभएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले जनमुखीलाई एचडीयू बेडहरुमा डिफ्रिविलेटर जडान गर्न ताकेता गरेपनि हालसम्म बस्नेतले उपलव्ध गराउन सकेका छैनन् ।


प्रतिक्रिया