प्रदेश १ का सबै अस्पताललाई कोभिड अस्पताल बनाउन कांग्रेसको माग

वैशाख २६, २०७८ | मोरङ

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशका सबै अस्पताललाई कोभिड अस्पताल बनाउन प्रदेश सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलले आइतबार पत्रकार सम्मेलन गरी उपचार अभावमा कोरोना संक्रमितले ज्यान गुमाइरहेको भन्दै तत्काल प्रदेशका निजी तथा सामुदायिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरेर भरपर्दो उपचारको व्यवस्था गर्न माग गरेको हो । 

पत्रकार सम्मेलनमा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले हालसम्म कोशी कोभिड–१९ उपचार केन्द्र र मेची अस्पतालमा मात्रै कोभिड उपचारको व्यवस्था गर्नु लाजमर्दो भएको बताउनुभयो । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल र नोवेल शिक्षण अस्पताल र बी एण्ड सी अस्पतालमा संघीय सरकारले कोभिड अस्पतालको व्यवस्थापन गरेको छ । 

प्रदेश २ बाट समेत कोरोना संक्रमित उपचारका लागि आउने गरेको भन्दै हाल सञ्चालनमा रहेका सबै कोभिड अस्पतालका शय्या भरिएकाले संक्रमितले उपचार नपाएर ज्यान गुमाउन बाध्य रहेको कार्कीले बताउनुभयो । 

प्रदेश २ सम्मको संक्रमितको उपचारका लागि सरकारले अहिले सम्ममा प्रदेशका ६ वटा अस्पतालमा ७ सय २७ शय्याको मात्रै व्यवस्था गर्न सकेको छ । जसमा आईसीयू १ सय ४०, एचडीयू ८४, भेन्टिलेटर १०, पीआइसीयू ६, एनआईसीयू ३, अक्सिजन सहितको शय्या ३ सय ९७ र सामान्य शय्या ८७ वटा मात्रै रहेको छ । यी मध्ये सबै आईसीयू, एचडीयू, भेन्टिलेटर, पीआईसीयू र अक्सिजन भएको शय्या संक्रमित बिरामीले भरिसकेको छ । 

सरकारले भने अनुसारको शय्या, भेन्टिलेटर र आईसीयू पनि सबै सञ्चालनमा नरहेको कार्कीले बताउनुभयो । सामाजिक विकास समितिका सदस्य कार्कीले हालै कोभिड अस्पतालको अनुगमनका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले भने अनुसारको १५० शय्याको व्यवस्था नभएको पाइएको बताउनुभयो । 

संक्रमितलाई स्वास्थ्यमा अचानक समस्या देखिएर तत्कालै मृत्यु भईरहेको भन्दै उहाँले सरकारी नीतिले संक्रमित अस्पतालै नपुगी ज्यान गुमाउन बाध्य भएको बताउनुभयो । जिल्ला अस्पताल संखुवासभा लगायत जिल्ला अस्पताल, स्थानीय तहमा रहेका सबै प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको व्यवस्था गर्न सकिए धेरै संक्रमितको ज्यान बचाउन सकिने उहाँको भनाई छ ।

यसअघि विराटनगरकै न्यूरो अस्पतालमा सञ्चालित कोभिड अस्पताल प्रदेश सरकारको बेवास्ताले सञ्चालन हुन सकेको छैन । सरकारलाई सही बाटोमा दोहोर्‍याउने प्रतिपक्षको धर्म भएकाले पटक–पटक कोरोना महामारीको रोकथाम, नियन्त्रण र निदानका लागि सरकारको ध्यानाकर्षण गराएको प्रमुख सचेतक कार्कीले सुनाउनुभयो । कोरोना महामारीबाट प्रदेशवासीको ज्यान जोगाउन निजी क्षेत्रका साथै गैरसरकारी संघ संस्था, नागरिक समाजलाई समेत अघि बढ्न उहाँले आग्रह गर्नुभयो । 


प्रतिक्रिया