मायादेवीमा १० शय्याको अस्थायी अस्पताल सञ्चालन

वैशाख २७, २०७८ | तिलोत्तमा

रुपन्देहीको मायादेवी गाउँपालिकाले सोमबारदेखि कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित सभाहलमा १० शय्याको अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याइएको हो । 

कोरोना भाइरस संक्रमितको उपचार तथा हेरचाहका लागि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताउनुभयो । संक्रमितको उपचारको लागि अस्पतालमा चार जना स्वास्थ्यकर्मीको टोलीलाई सिफ्ट अनुसार खटाइने उहाँले बताउनुभयो । 

‘एक जना चिकित्सक पनि राख्ने तयारीमा छौं, स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘आजदेखि नै कोरोना संक्रमितलाई राख्छौं ।’ 

गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले कोरोना संक्रमण फैलिन नदिन निषेधाज्ञाको अनिवार्य पालना गरी घरमै बस्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । उहाँले आवश्यकता अनुसार अस्पतालमा शय्याको संख्या बढाउने भन्दै स्थानीयको स्वास्थ्यप्रति आफूहरु गम्भीर रहेको बताउनुभयो ।


प्रतिक्रिया