चीनतर्फबाट सगरमाथा आरोहण स्थगित

जेष्ठ १, २०७८ | काठमाडौं

चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा बढिरहेको कोरोना संक्रमणको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो ।

नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै चिनियाँ खेलकुद प्रशासनले आरोहण स्थगित गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रणउन्मुख छ । बाहिरबाट फेरि कोरोना नभित्रियोस् भनेर उसले निकै सावधानी अपनाएको छ । 

चीनले यस सिजनमा ३८ जनालाई मात्रै सगरमाथा आरोहणको अनुमति दिएको थियो । उनीहरु सबै चिनियाँ नागरिक रहेको समाचार संस्था एपीले जनाएको छ । नेपालले भने यस बर्ष ४ सय ८ जनालाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको छ । 

गत वर्ष कोरोना महामारीका कारण दुवै तर्फबाट आरोहण भएको थिएन । सिजनको पहिलो आरोहण बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १२ जनाको टोलीले बैशाख २८ गते गरेको थियो ।

यसअघि चीनले सगरमाथाको चुचरोमा रेखांकन गरेर नेपालतर्फका आरोहीबाट संक्रमण हुनबाट बच्ने बताएको थियो । 


प्रतिक्रिया