लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्प

जेष्ठ ६, २०७८ | लमजुङ

लमजुङ केन्द्रबिन्दु भएर २४ घण्टाको अवधिमा ८६ वटा भूकम्प गएको छ । यसमा ४ म्याग्नेच्युट भन्दा माथिका ६ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । लमजुङको मर्स्याङदी गाउँपालिका–८, भुलभुले केन्द्रबिन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएको थियो । 

बिहीबार बिहान ६ बजेसम्मको रेकर्ड अनुसार ४ म्याग्नेच्युट भन्दा मुनीका मात्रै ८० वटा भूकम्प गएको रेकर्ड गरिएको केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो । उहाँका अनुसार बुधबार बिहान ८ बजेर १६ मिनेटमा ४ म्याग्नेच्युट, ८ बजेर १७ मिनेटमा ४ दशमलव १ म्याग्नेच्युट र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको छ । 

बुधबार राति ९ बजेर २३ मिनेट जाँदा ४ म्याग्नेच्युटको भूकम्प गएको थियो । राति १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ म्याग्नेच्युटको भूकम्प गएको भूकम्पविद् कोइरालाले बताउनुभयो । सुरुमा भूकम्पको केन्द्र भुलभुले देखाएपछि त्यसपछि चण्डिस्थान र सिम्पानीको सीमाक्षेत्र, बाँझाखेत क्षेत्र लगायतको ठाउँ केन्द्रबिन्दु देखाएको छ ।

उहाँका अनुसार लमजुङमा आएको भूकम्प गोरखा भूकम्प (२०७२ बैशाख १२) गतेको पराकम्प हो । पहिलो पटकको धक्का आएपछि परकम्प बिस्तारै घट्दै जाने अहिलेसम्मको अध्ययनले देखाएको उहाँको भनाई छ । उहाँका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेटदेखि १२ घण्टासम्म ५६ वटा पराकम्प गएको छ । 

पछिल्लो १२ घण्टामा ३० वटा पराकम्प गएको छ । कोइरालाले भन्नुभयो, ‘नयाँ भूकम्पबारे भन्न सकिादैन । तर, पराकम्प भने घट्दै गएको देखिन्छ ।’ भूकम्पले रातभरी झड्का दिएपछि लमजुङबासीले राम्रोसँग निदाउन पाएनन् । बुधबार दिनभरी भूकम्पले झट्का दिएपछि बजार तथा ग्रामीण भेगका कतिपय स्थानीयले त्रिपालभित्रै रात कटाएका छन् । 


प्रतिक्रिया