रुपन्देहीमा जेठ २० गतेसम्मका लागि निषेद्याज्ञा थप

जेष्ठ १२, २०७८ | तिलोत्तमा

रुपन्देहीमा जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीएमसी) को बुधबारको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमणदर नघटेको भन्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । 

यसअघि निर्धारण गरिएका मापदण्ड अनुसार नै निषेधाज्ञाको अवधि थप भएको भन्दै उहाँले निषेधाज्ञालाई अझै कडाईका साथ लागू गरिने बताउनुभयो । यसअघि संक्रामक ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएकोमा अब थप गरिएको निषेधाज्ञामा भने कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत कार्यान्वयन हुने प्रजिअ तामाङले जानकारी दिनुभयो । 

नयाँ अध्यादेशमा सरकारले तोकेको निषेधाज्ञा वा कुनै प्रकारको आदेश उल्लंघन गरेमा ६ महिना कैद र ३ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । आदेश उल्लंघन गर्नेलाई तत्काल व्यक्तिको हकमा १ लाख र संस्थाको हकमा २ लाख रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ । 

निषेधाज्ञामा अत्यावश्यक वस्तु तथा माल समान ढुवानीका सवारी साधन बाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरिएको छ । 

दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको लागि उद्योग वाणिज्य संघ र व्यापार संगठनले व्यवस्था मिलाउने प्रजिअ तामाङले जानकारी दिनुभयो । वस्तुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्मा गर्ने वा लुकाउने र सहज आपूर्तिमा अवरोध गर्नेलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया