पहिरोमा बेपत्ता बालक अझै फेला परेन, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदेखोला नजिकै खसेको पहिरो र क्षतविक्षत घरहरु । तस्बिरहरु : माधव अर्याल/रेडियो कान्तिपुर  

असार २४, २०७८ | पाल्पा

पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोला नजिकै खसेको पहिरोमा हराईरहेका एक बालक अझै फेला परेको छैन । पहिरोले तिनाउ गाउँपालिका–५, हिउँदे खोला नजिकै बस्ने रमेश र पूजा परियारका चार वर्षीय छोरा आरम्भ पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।

पहिरो झरेको स्थानमा नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका साथै स्थानीय बासिन्दाले बेपत्ता बालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । स्काभेटर, डोजर परिचालन गरेर लेदो माटो, ढुंगा हटाएर खोजी कार्य भईरहेको छ । उनलाई बुबा आमाले समाएर पहिरोबाट जोगिएर भाग्ने क्रममा हातबाट फुस्किएर पहिरोले बगाएको थियो ।

सोही पहिरोमा पुरिएर तिनाउ गाउँपालिका–५, हिउँदेखोला नजिकैका ४५ वर्षीय वीर बहादुर गुरुङको मृत्यु भएको हो । छोरा अनिल गुरुङका अनुसार राति पानीको भेलसँगै एकैपटक ढुंगा माटो सहितको पहिरो खसेर वीरबहादुरलाई पुरेको थियो । सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट ठूलाठूला ढुंगा सहितको पहिरो खसेको छ ।

पहिरोले घर पुरिँदा सात जना घाइते भएका छन् । पहिरोले दुई घर पुरिएको र तीन घर बगाएको छ । ठूलो बाढी सहितको पहिरो आएपछि ज्यान जोगाउन भाग्ने क्रममा सात जना घाइते भएका हुन् ।सात जना भन्दा बढीलाई बाढीबाट जोगिन भागेर ज्यान जोगाएका छन् ।

पहिरोले बगाएर र पुरिएका ७५ वर्षीय सुन्दरी गुरुङ, रमेश परियार, पूजा परियार, बलबहादुर पुन, दिपेश पुन, आकास तामाङ, दिलबहादुर रानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । ७६ वर्षीय सुन्दरीको अवस्था गम्भीर रहेको छ । पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, बलबहादुर पुन र रमेश परियारको घर पहिरोले बगाएको स्थानीय विष्णु बहादुर गाहाले बताए ।

स्थानीय बासिन्दाले भने प्रहरी प्रशासनको ढिलाईले गर्दा पहिरोमा पुरिएका र घाइतेको उद्धारमा कठिनाई भएको गुनासो गरेका छन् । पहिरोले कल्याणी आधारभूत विद्यालयको दुई वटा भवनका साथै शौचालय, खानेपानी टंकीमा समेत क्षति पुगेको प्रधानाध्यापक सुन्दर गाहाले बताउनुभयो । पहिरो पीडितहरुलाई स्थानीयले विद्यालयमा खाने बस्ने व्यवस्था गरेको स्थानीय प्रेम श्रेष्ठले बताए ।

स्थानीय खानी संचालक विष्णु बहादुर गाहाले खानाको प्रबन्ध गरेका छन् । प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको हिउँदेखोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पिपलडाँडा लगायत स्थानमा समेत ठूलो पहिरो खसेको छ ।

पाल्पाकै आर्यभन्ज्याङ्देखि रामपुर जाने सडकका विभिन्न स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका झुम्सा, हिउँदेखोला, गिटीखानी नजिक खसेको पहिरो पन्छाउन ढिलाई हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सिद्धार्थ राजमार्गका झुम्सा, पानी मिल, हिउँदेखोला लगायत स्थानमा खसेको पहिरो पन्छाउन सडक डिभिजनले डोजर, स्काभेटर परिचालन गरेपनि पहिरो ठूलो भएकाले समस्या भएको छ । पहिरोमा ठूला ढुंगा रहेको र ढुंगा माटो अत्यधिक भएकाले बेलुकीसम्म सडक खुलाउन मुस्किल पर्ने सडक डिभिजनले जनाएको छ ।


प्रतिक्रिया