तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन सिलण्डर मौज्दात राख्न मन्त्रालयको निर्देशन

श्रावण ११, २०७८ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो केही दिन यता कोरोना संक्रमणको दर बढेकाले तेस्रो लहर आउन सक्ने भन्दै थप सावधानी अपनाउन सातै प्रदेशलाई पत्राचार गरेको छ । मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायद्वारा जारी विज्ञप्तिमा जनस्वास्थ्य मापदण्डको पालना र निषेधाज्ञाका बाबजुद पनि संक्रमण दर कमी नआएको भन्दै तेस्रो लहर आउन सक्ने आंकलन गरिएको छ । 

भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न भन्दै सातैवटा प्रदेशको सामाजिक विकास मन्त्रालयलाई एक हजार अक्सिजन सिलिण्डर मौज्दात राख्न निर्देशन दिइएको छ । मौज्दात सिलिण्डर पनि खाली नराख्न र अक्सिजन पीएसए प्लाण्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सेन्ट्रेटरहरु चालु र चुस्त राख्न पनि मन्त्रालयले सातै प्रदशेका सामाजिक विकास मन्त्रालयलाई निर्देशन जारी गरेको छ । मन्त्रालयले अहिलेको अवस्थामा सुधार नआए आगामी पाँच महिनामा एक लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

यसैबीच मन्त्रालयले आगामी असोजसम्ममा लक्षित जनसंख्याको एक तिहाईलाई खोप दिइसक्ने गरी तयारी अघि बढाएको छ । मनत्रालयका सह प्रवक्ता डा समीर अधिकारीले आउने खोप पाइप लाइनमा रहेकाले उमेर समूहका आधारमा अब खोप दिदैं जाने मन्त्रालयको तयारी रहेको बताउनुभयो । सरकारले चीनसंग खरिद गरेको ४० लाख डोज खोप मध्ये ३२ लाख सहित ५० लाख डोज कोभिड १९ विरुद्धको भेरोसेल खोप भित्राइसकेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया