जलवायु परिवर्तनको असर न्यूनिकरणबारे सरकारले सोच्नुपर्छ : गिरिराजमणि पोखरेल

श्रावण १५, २०७८ | काठमाडौं

पूर्वशिक्षा तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्राकृतिक विपद न्यूनिकरण एवं जलवायु परिवर्तनको चुनौती समाना गर्न सरकार तयार हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभामा महोत्तरीमा सुरु गरिएको हरितगृह अभियानबारे जानकारी गराउँदै पोखरेलले नेपालसहित विश्व समुदायले यस वर्ष भोगेको प्राकृतिक विपदबाट पाठ सिक्नुपर्ने र परिष्कृत योजना बनाएर अघि बढ्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । मेलम्ची र मनाङमा देखा परेको प्राकृतिक विपदले भोलिका दिनमा पनि त्यस्तै विकराल समस्याको सामना गर्नुपर्ने अवस्थातर्फ संकेत गरेको पोखरेलले भनाई थियो ।

पोखरेलकै परिकल्पनामा जलवायु परिवर्तन र सम्भावित विपद् न्यूनिकरणका लागि भन्दै महोत्तरीका ३ वटा पालिकाबाट ३ लाख बिरुवा रोप्ने लक्ष्यसहित हरित अभियान सुरु गरिएको छ । जिल्ला डिभिजन वन कार्यालय, स्थानीय तह, सामुदायिक विकास तथा पैरवी मञ्च र अन्य संघसंस्थाको समन्वयमा बर्दिवास, गौशाला र भंगाहा नगरपालिकामा ३ महिनामा ३ लाख बिरुवा रोपिने लक्ष्य राखिएको अभियानका परिकल्पनाकार समेत रहनुभएका पोखरेलले जानकारी गराउनुभयो ।

 अभियान अन्तर्गत भंगाहा ५, बर्दिवास–६ र ७ स्थित रातु खोला किनार र गौशाला–१० स्थित मराहा खोला किनारमा वृक्षरोपण सुरु भइसकेको छ । अभियानअन्तर्गत बर्दिवासमा मात्रै ३५ हजारभन्दा बढी बिरुवा रोपिसकेको छ । सिरहाको लहानदेखि बाराको सिमरासम्म चुरे क्षेत्रमा काम गर्ने लक्ष्य अभियानको रहेको पोखरेलले बताउनुभयो । चुरे दोहनले मरुभूमीकरण बन्दै गएको तराई र पानीको अभाव भोग्दै आएका जनतालाई यो अभियानले राहत प्रदान गर्ने बताइएको छ ।  

हरित अभियान अन्तर्गत मुख्य १० कार्यक्रमहरु अघि सारिएको छ । जस अन्तर्गत बृहत् वृक्षारोपण : बिरुवा नर्सरी, घाास क्षेत्र तथा नदी किनारमा ग्रीन बेल्ट निर्माण, समुदायको जीविकोपार्जन मुखी संरक्षण का लागि खुला क्षेत्रमा फलफूलको बिरुवा लगाउने , एकीकृत जलाधार व्यवस्थापनको अवधारणा अनुसार नदीको व्यवस्थापन गर्ने उल्लेख छ । 

यस्तै पारिस्थितिक प्रणालीको पुनर्स्थापना गर्न उत्खनन तथा क्षयिकरण भएका क्षेत्रहरुमा पुनर्भरण कार्यक्रम गर्ने, पारिस्थितिक प्रणालीमा आधारित कृषिसमुदाय स्तर मा विस्तार गर्ने, जलवायु परिवर्तनको असर न्युनिकरण गर्न रविपद् न्यूनीकरण गर्न प्राकृतिक प्रविधिको प्रयोग गर्ने, संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण गर्ने, वातावरणीय समस्याको अनुसन्धान गर्न नास्ट र विश्वविद्यालयहरुको संयोजनमा ज्ञान केन्द्रको स्थापना गर्ने योजना अघि सारिएको छ । यस्तै अभियानमार्फत हरियाली शहर कार्यक्रम गरि सुरक्षित सहरहरु निर्माण गर्ने र स्थानीय सरकारको अगुवाइमा यस अभियानलाई दिगो बनाउने लगायतका लक्ष्य अघि सारिएको पोखरेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया