बिर्तामोड नगरपालिकाको कार्यालयमा तालाबन्दी

श्रावण १६, २०७८ | बिर्तामोड

कोभिड–१९ विरुद्धको खोपमा अनियमितता गरेको भन्दै विद्यार्थी संगठनले आज झापाको बिर्तामोड नगरपालिकामा तालाबन्दी गरेका छन् । खोपमा अनियमितता भएको भन्दै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी जिल्ला कमिटीका विद्यार्थीले बिहान ११ बजे नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । 

खोप होटलमा लुकाएर अनियमितता गर्न खोज्ने नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का, नगर प्रमुख ध्रुवकुमार सिवाकोटी र स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेल लगायत यसमा संलग्न सबैलाई कारबाही र बर्खास्त गर्न उनीहरुले माग गरेका छन् । 

दिनभर लाइनमा बसेका व्यक्तिलाई खोप छैन भनेर फर्काइएको तर, २ सय डोज खोप होटलमा लुकाएर राखेको भेटिएपछि घटना बारे उच्चस्तरीय छानबिन हुनुपर्ने उनीहरुको माग छ । विद्यार्थीहरुले बिर्तामोड नगरपालिकाले कोरोना विरुद्धको खोप लगाएका व्यक्तिहरुको विवरण पनि सार्वजनिक गर्न माग गरेका छन् । 

शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले बिर्तामोड नगरपालिकाका लागि पठाएको २ सय डोज खोप बिर्तामोडस्थित एक होटलमा भेटिएको थियो । नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का सहितले २ सय डोज खोप होटलमा लुकाइ राखेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

होटलमा खोप फेला परेको घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म नगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन गर्ने नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सन्तोष उप्रेतीले बताउनुभयो । उहाँले खोप होटलमा पुर्‍याउने नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई प्रहरीले तत्काल पक्राउ गर्नुपर्ने माग गर्नुभयो । 


प्रतिक्रिया