फैसला चित्त नबुझेको भन्दै अदालत पुगेकी एसिड पीडित आरती पक्राउ

श्रावण २६, २०७८ | जनकपुर

एसिड बिक्रेतालाई सफाइ दिएको भन्दै जनकपुरस्थित धनुषा जिल्ला अदालतमा आपत्ति जनाउन पुगेकी एसिड पीडित आरती साहलाई प्रहरीले पक्राउ गरेको छ । एसिड बिक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएर आफूलाई अन्यायमा पारेको आरतीले बताईन् । 

उनी केहीबेर अघि भाई राजा साहसँगै धनुषा जिल्ला अदालत पुगेकी थिइन् । एसिड बिक्रेता नागेन्द्रलाई सफाइ दिएको खबर सुनेपछि आरती काठमाडौंबाट मंगलबार बिहान जनकपुर पुगेकी हुन् । ठूलो पानी परिरहेपनि भाइ राजा साहसँग अदालत पुगेकी आरतीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । 

आरतीलाई अदालतको मुख्य गेटमै सुरक्षाकर्मीले रोकेको थियो । ‘प्रहरीले मलाई र मेरो भाइलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको छ,’ हिरासतमा रहेकी आरती फोनमा कान्तिपुरसँग भनिन, ‘मलाई अन्याय भएको छ । न्याय नपाएसम्म लडिरहन्छु ।’ 

प्रहरी कार्यालयमा आरती र उनका भाई राजालाई राखिएको छ । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले आरतीलाई पक्राउ गरिएको र उनको मुद्दामा अदालतले सुनाएको आदेशबारे जानकारी नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासन कार्यालयको एउटा मिटिडमा छु । अदालतमा के भएको मलाई थाह भएन, म बुझ्छु ।’ 

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतले अदालत परिसरमा गएर होहल्ला गरिरहेकाले आरती र उनको भाइ राजालाई जिल्ला प्रहरी कार्यालय लिएर आएको बताउनुभयो । आरतीसँग सोधपुछ भईरहेको डीएसपी बस्नेतले बताउनुभयो । 

छुट्टिएर बसिरहेकी श्रीमती र छोरीलाई डेरामै पुगेर गत वर्ष कात्तिक २९ गतेको बिहान सञ्जीव साहले एसिड प्रहार गरेको थियो । आरतीमाथि एसिड प्रहार गरेको घटनामा जिल्ला अदालत धनुषाले सोमबार उनका श्रीमान सञ्जीव साहलाई कसुर ठहर गर्दै सजाय तोक्न आदेश दिएको थियो भने एसिड बिक्रेता नागेन्द्रलाई सफाइ दिएको थियो । 


प्रतिक्रिया