प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर

भाद्र १३, २०७८ | जनकपुर

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा शैलेन्द्र साहलाई ल्याइएको छ । साह भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन् । यादव र साहको मन्त्रालय हेरफेर गरिएको छ । ‘हेरफेर गरिएका दुबै मन्त्री नयाँ मन्त्रालयको जिम्मेवारी सोमबारदेखि सम्हाल्दैछन्,’ प्रदेश सरकारका एक मन्त्रीले भने, ‘दुबै मन्त्रीको जिम्मेवारी हेरफेर गरिसकिएको छ ।’

मन्त्रीको जिम्मेवारी फेरिएको बारे पत्र नआएको भन्दै विजय यादवले जिम्मेवारी हेरफेर बारे पार्टीमा छलफल भएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालय साटफेर गर्ने बारे पार्टीमा छलफल चलेको थियो । मन्त्रालय फेरबदल नै भईसकेको मलाई जानकारी छैन ।’ 

मुख्यमन्त्री राउत र मन्त्रालय फेरिएका मन्त्री यादवबीच भने प्रदेश सरकार गठनदेखि नै तिक्क्ता छ । मुख्यमन्त्री बन्ने दाउमा रहेका यादवलाई पन्छयाएर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राउतलाई मुख्यमन्त्री रोजेपछि यी दुबैबीच झन् टसल बढेको थियो । 

आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका मन्त्री यादवले मुख्यमन्त्री राउतलाई बजेट विनियोजन, नीति तथा कार्यक्रम र अन्य आर्थिक गतिविधिमा अवरोध गर्दै आइरहेका थिए । प्रदेश सरकारका जसपाका एक मन्त्रीका अनुसार पार्टी अध्यक्ष यादव र मुख्यमन्त्री राउतकै सल्लाहमै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको हो । 


प्रतिक्रिया