पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन

भाद्र १४, २०७८ | पाल्पा

आइतबार बिहानदेखि पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेको छैन । सडक डिभिजनले समयमै पहिरो नपन्छ्याएकाले एकतर्फी सडक सञ्चालनमा समेत ढिलाई भएको हो । आइतबार बिहान ९ बजेतिर खसेको पहिरो बेलुकी ६ बजेपछि डोजर र स्काभेटर लगाएको थियो । 

राति ८ बजेसम्म काम गरेको डोजरले सोमबार बिहान ८ बजेपछि काम सुरु गरेको छ । तानसेन नगरपालिका–८, डुम्रेका स्थानीय ढालबहादुर खड्काका अनुसार पहिरो ठूलो भएको र डोजर लगाउन ढिलाई भएकाले सडक खुल्न समस्या भएको हो । 

सडक अबरुद्ध हुँदा लामो तथा छोटो दूरीका सयौं यात्रु तथा सवारी साधन बीचबाटोमै रोकिएका छन् । सडक डिभिजन भने सिद्धार्थ राजमार्ग अन्तर्गत दर्जन बढी स्थानमा पहिरो खसेको र अन्य स्थानको पहिरो हटाउन समय लाग्दा डोजर संचालनमा समस्या भएको जनाएको छ । 

डुम्रेमा पहाडै भासिएर पहिरो खसेको छ । पहिरोको ढुंगामाटो पन्छ्याउन अझै केही समय लाग्ने सडक डिभिजन कार्यालयका सूचना अधिकारी शिवु खत्रीले बताउनुभयो । डुम्रेको पहिरो हटाउन दुई वटा डोजर परिचालन गरिएको छ । 

डुम्रेको पहिरोले देवबहादुर सारुको दुई तले पक्की घर बगाएको छ । सोही स्थानका अन्य तीन घर समेत पहिरोले क्षति पुगेको छ । पहिरोका कारण यात्रु र चालकले भने सास्ती खेप्नु परेको छ । पीडित यात्रु निर्मल भण्डारीका अनुसार खाना नपाइने, बासस्थान नपाइने समस्या भोग्नु परेको छ । 

यात्रुले स्थानीय प्रशासन र सडक डिभिजनका कारण समस्या खेप्नु परको समस्या सुनाए । स्थानीय बासिन्दा पनि पहिरोमा परेकालाई राहत र उद्धारका लागि कोही निकाय नपुगेको गुनासो गरे । नगरपालिका, प्रशासन, सडक डिभिजन कोही कसैले वेवास्ता गरेकाले नै माटो फाल्ने विषयमा समेत विवाद भएको थियो ।

उता, तिनाउ गाउँपालिका–५, कालीमाटी नजिकै पुन: पहिरो खसेको छ । डाँडै खसेकाले डोजरलाई पहिरो पन्छाउन कम्तीमा ५ घण्टा लाग्ने सडक डिभिजनले जनाएको छ ।

पहिरो पन्छाउन केही समयमा सुरु गरिने सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले बताउनुभयो । उहाँका अनुसार डुम्रेमा ट्रयाक खुल्ने र कालीमाटीमा ट्रयाक सँगसंगै खोल्न सकिन्छ । सोमबार बेलुकीसम्म एकतर्फी रुपमा सडक सञ्चालनमा आउने उहाँले बताउनुभयो । 


प्रतिक्रिया