तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

भाद्र १५, २०७८ | पाल्पा

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग मंगलबार अपराह्नेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पहाड भासिएर राजमार्गमा खसेको लेदो सहितको पहिरो हटाएपछि राजमार्ग एकतर्फी खुलेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयो । 

आइतबार बिहान ९ बजेदेखि पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध भएको थियो । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ तल्लो डुम्रे बजार नजिक खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको थियो । एक घर पुरिएको र थप चार घरमा क्षति पुग्ने गरी खसेको पहिरो पन्छाउन तीन दिन लागेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पहिरो ठूलो भएको र ढुंगामाटो फाल्न समस्या भएको थियो । वर्षा नरोकिएकाले पहिरो पन्छाउन थप समस्या परेको सडक डिभिजनका सूचना अधिकारी खत्रीले जानकारी दिनुभयो । मंगलबार बिहान दुई एक्साभेटर र दुई डोजरका साथै ट्रिपर प्रयोग गरेर पहिरो पन्छाइएको हो । राजमार्ग एकतर्फी खुलेपनि वर्षा हुनासाथ समस्या हुन सक्ने भएकाले सावधानी अपनाएर यात्रा गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष कुमार भट्टराईले आग्रह गर्नुभयो ।

सडक एकतर्फी खुलेपछि तीन दिनदेखि राजमार्गमा अलपत्र परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । स्थानीय सन्तोष कार्कीका अनुसार महेन्द राजमार्गको बुटवल–नारायणगढ सडक खण्डमा जाममा फसेका सवारीसाधन समेत पोखरा हुँदै आएकाले पनि सर्यौं सवारी साधनको जाम भएको थियो । झण्डै तीन किलोमिटर क्षेत्रको लामो सवारीलाई गन्तव्यतर्फ पठाउने काम भएको छ । तीन दिनसम्म सडकमा अलपत्र परेको सयौं यात्री खाना, आवासको समस्यामा परेका थिए । 


प्रतिक्रिया