कांग्रेसको प्रदेश अधिवेशन धकेलिने

रेडियो कान्तिपुर संवाददाता

कार्तिक १, २०७८ | काठमाडौं


नेपाली कांग्रेसको प्रदेश तहको अधिवेशन तालिका धकेलिने भएको छ । प्रदेश अधिवेशन एकै चरणमा गर्ने भन्दै कांग्रेसले यसअघि कार्तिक १० देखि १२ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, एकै चरणमा प्रदेश अधिवेशन गर्न तत्काल सम्भव नदेखिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताउनुभयो ।

एकै चरणमा प्रदेश अधिवेशन गर्ने गरी निर्वाचन समितिले अर्को मिति तय गर्ने संयोजक यादवले बताउनुभयो । रेडियो कान्तिपुरसँग संयोजक यादवले भन्नुभयो– ‘निर्धारित समयमै प्रदेश अधिवेशन होस् भन्ने हाम्रो चाहना हो । तर, परिस्थिति हेर्दा त्यो सम्भव देखिन्न् । अर्को मिति तोक्नुको विकल्प छैन ।’ प्रदेश अधिवेशनको तालिका हेरफेर हुँदा केन्द्रीय महाधिवेशनको तालिकामा फरक नपर्ने उहाँको भनाई छ ।

तीन जिल्लाको क्रियाशिल सदस्यता विवाद कांग्रेसले अझै टुंग्याएको छैन । क्रियाशिल सदस्यको टुंगो लागेका १३ जिल्लामा पनि वडाअधिवेशन हुन सकेको छैन् । यस्तै, दशैं अघि जिल्ला अधिवेशन गर्ने भनिएका २१ जिल्लामध्ये १३ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको छ । अहिले कांग्रेसले तीन चरणमा तल्लो तहको अधिवेशन गरिरहेको छ । कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्दैछ ।    


प्रतिक्रिया