कालिकोटमा घर भत्किदा किशोरीको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २, २०७८ | कालिकोट


अविरल वर्षाका कारण गएराती घर भत्किदा कालिकोटको महावै गाउँपालिका–७, राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ । उनीसँगै सुतेकी उनकी १५ वर्षीया बहिनी इशानी अधिकारी घाइते भएकी छन् । खाना खाएर घरमा सुतिरहेको बेला स्थानीय विष्णुलाल अधिकारीको घर भत्किदा उनकी जेठी छोरी स्मृतिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख चक्रवहादुर शाहले बताउनुभयो ।

 घाइते इशानीको स्थानीय स्वास्थ्य संंस्थामा उपचार भइरहेको उहाँले बताउनुभयो । पहिरोले सोही गाउँका अन्य ५ घर पनि भत्किएका छन् भने २५ घर जोखिममा छन् । जोखिममा रहेका २५ घर परिवारलाई गएराती १२ बजे स्थानीय राम मावि राम्नी र स्वास्थ्य चौकीको भवनमा सारिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया