महाकाली नदीमा सय वर्ष यताकै ठूलो बाढी

कार्तिक २, २०७८ | कञ्चनपुर

महाकाली नदीमा मंगलबार एक शताब्दी यताकै ठूलो बाढी आएको छ । शारदा ब्यारेजको बनबासा पुल निर्माण गरिए यता सबै भन्दा ठूलो बाढी मापन गरिएको हो । मंगलबार दिउँसो २ बजे महाकाली नदीमा पानीको बहाव ५ लाख ४७ हजार २२४ क्युसेक मापन गरिएको छ । 

यसअघि २०७० मा ५ लाख ४४ हजार ४७६ क्युसेक मापन गरिएको थियो । नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्तीहरु जलमग्न बनेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका दुबैतर्फका नदी किनारका बस्तीहरुमा बाढी पसेको छ । 

भीमदत्त नगरपालिका ११, १२ र १३ का आधा दर्जन बढी बस्तीहरु डुबानमा परेका छन् । यसैगरी, दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर र वडा नम्बर–१० कुतियाकभर डुबानमा परेका छन् । 

१९२८ मा निर्माण भएको शारदा ब्यारेजमा १९३४ मा महाकाली नदीमा ठूलो बाढी आएको थियो । त्यतिबेला पानीको बहाव ५ लाख २२ हजार क्युसेक पुगेको थियो । दिउँसो भने बाढी घट्न थालेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार ३ बजेको मापन अनुसार पानीको बहाव ५ लाख ३३ हजार क्युसेक पुगेको छ । शारदा ब्यारेजका क्षमता ६ लाख ४४ हजार क्युसेक हो । बाढी खतराको सतह पार गरेपछि शारदा ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ । सर्वसाधारणलाई हिडडुल गर्न बन्द गरिएको छ । 


प्रतिक्रिया