एनआरएनएद्वारा सरकारविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता

रेडियो कान्तिपुर संवाददाता

मंसिर ११, २०७८ | काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेको छ । संघका अध्यक्ष कुमार पन्तले आज पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयसहित नेपाल सरकारविरुद्ध मुद्दा दायर गरेको जानकारी गराउनुभएको हो ।

 परराष्ट्र मन्त्रालयले संघको आसन्न निर्वाचन रोक्ने मनसायले केही व्यक्तिको प्रभावमा परेर अन्यायपूर्ण पत्र जारी भन्दै संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको पन्तले बताउनुभयो । अध्यक्ष कुमार पन्तका अनुसार उच्च अदालत पाटनमा उत्प्रेषण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकार विरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको हो । 

सरकार विरुद्धको निवेदनमा दशौँ महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्तले भने निर्वाचन पूर्व घोषित मिति (डिसेम्बर १५ मै) हुने बताउनुभएको हो । निर्वाचन संरक्षण समितिले नभई वर्तमान कार्यसमितिले नै गर्नेमा कुनै आशंका नभएको अध्यक्ष पन्तले बताउनुभयो । 

संघको विशेष महाधिवेशनको म्यानडेट अनुरुप विधान अनुरुप सबै राष्ट्रिय समन्वय समितिहरुको निर्वाचन सम्पन्न गरेर प्रतिनिधि चयन भएको अध्यक्ष पन्तले बताउनुभयो । उहाँले गैरआवासीय नेपाली संघलाई असफल गराउने उद्देश्यले केही राष्ट्रिय समितिहरु अरुको उस्कावटमा लागेको भन्दै संघको हितका लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया