सैनामैनामा बुधबारदेखि समुदायस्तरमा एन्टिजेन परीक्षण

माघ ४, २०७८ | तिलोत्तमा

रुपन्देहीको सैनामैना नगरपालिकाले कोभिड–१९ का सम्भावित संक्रमितको समुदाय स्तरमा एन्टिजेन परीक्षण गर्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढिरहेकाले समुदाय स्तरमा संक्रमणको अवस्था पत्ता लगाउन र संक्रमितको उपचारका लागि एन्टिजेन परीक्षण गरिने नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार माघ ५ गतेदेखि समुदायस्तरमा एन्टिजेन परीक्षण गरिनेछ । कोरोनाको लक्षण देखिएका व्यक्तिलाई तोकिएका स्थानमा परीक्षण गर्न प्रमुख कार्कीले आग्रह गर्नुभयो । बुधबार वडा १ को कार्यालयमा बिहान १० बजेदेखि १२ बजेसम्म, वडा २ को कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परीक्षण गरिने भएको छ । 

त्यस्तै, माघ ६ गते पर्रोहा स्वास्थ्य चौकीमा वडा ३ का लागि बिहान १० देखि १२ बजेसम्म समय तोकिएको छ भने वडा ४ का लागि दिउँसो २ देखि ४ बजेसम्म सोही स्थानमा एन्टिजेन परीक्षणको व्इवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ । माघ ७ गते वडा ५ को बुद्ध स्टार क्लबको भवनमा बिहान १० देखि १२ बजेसम्म र वडा ६ को दूधराक्ष स्वास्थ्य चौकीमा २ देखि ४ बजेसम्म एन्टिजेन परीक्षण गरिने भएको छ । 

त्यस्तै, नगरपालिकाका अनुसार माघ ९ गते वडा ७ को वडा कार्यालय देउवापार र वडा ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र बाँसगढीमा परीक्षण गरिने छ । माघ १० गते वडा ९ को वडा कार्यालयमा बिहान १० देखि १२ बजेसम्म र वडा १० को वडा कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परीक्षणको व्यवस्था मिलाइएको छ । त्यस्तै, माघ ११ गते वडा ११ को कोटियादेवी माविमा बिहान १० देखि १२ बजेसम्म एन्टिजेन परीक्षण हुनेछ । 

नगरपालिकामा हालसम्म ५७ हजार बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । नगरका ११ वटै वडाका गरि कुल ५७ हजार ६ सय ३९ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । नगर प्रमुख कार्कीका अनुसार पहिलो खोप लगाउनेमा ४७ हजार ६ सय ४० जना रहेका छन् । 

त्यस्तै पहिलो खोप लगाउनेको विद्यार्थीको संख्या ९ हजार ९ सय ९९ रहेको छ । नगरमा पूर्ण खोप अर्थात दुबै मात्राको खोप लगाउनेको संख्या ४२ हजार ३ सय १२ जना रहेको नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया