बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्दै

माघ ६, २०७८ | मकवानपुर

बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ । बिहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सरकार गठन भएको चार वर्ष अवधिको समीक्षा गर्दै श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य मन्त्री निमा लामाले भन्नुभयो, ‘प्रदेश सरकार स्थापना भएदेखि हालसम्म गरिएको कामको अनुभव सहित प्रगति, कमी कमजोरी र वर्तमान अवस्थालाई समेटेर प्रदेश सरकारले श्वेतपत्र जारी गर्नेछ ।’ 

श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलेको संयोजकत्वमा श्वेतपत्र लेखन समिति निर्माण गरिएको छ । समितिमा स्वास्थ्य मन्त्री लामा, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णराज खनाल र प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष सदस्य तोकिएको छ । 

बैठकले मुख्यमन्त्री राजेन्द्र पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति समेत निर्माण गरेको छ । बैठकले मन्त्रीहरुकै संयोजकत्वमा विभिन्न तीन वटा समिति निर्माण गरेको स्वास्थ्य मन्त्री लामाले जानकारी दिनुभयो । 

उहाँका अनुसार राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरिएको छ । मन्त्रिपरिषद्को बैठकले मन्त्रालयहरुको कर्मचारी संगठन संरचना र दरबन्दी समेत स्वीकृत गरेको छ । 

प्रदेश सरकारले मन्त्रालयको संख्या थपेसँगै कर्मचारी संगठन संरचना नहुँदा काम गर्न समस्या भएको गुनासो मन्त्रीहरुले नै गरिरहेका थिए । अब कर्मचारीको दरबन्दी र संरचनाको काम टुंगिएको मन्त्री लामाले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रादेशिक संरचना निर्माण गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा जग्गा पहिचान समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन सात दिनको म्याद दिइएको छ । बैठकले प्रदेशको वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि–२०७८ समेत स्वीकृत गरेको छ ।


प्रतिक्रिया