स्वास्थ्य मापदण्ड पालना नगरी भइरहेको परीक्षा रोक्न विद्यार्थीको माग

माघ ६, २०७८ | काठमाडौं

पूर्वाञ्चल विश्वविद्यालयले लिइरहेको बीएएलएलबी चौंथो वर्षको परीक्षालाई निरन्तरता दिने या केही समय रोक्ने भन्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँणले विद्यार्थीहरुसँग छलफल गर्नु भएको छ । 

गृहमन्त्री खाँणले बीएएलएलबी चौंथो वर्षको परीक्षालाई जारी राख्ने या केही समय स्थगन गर्ने भन्ने विषयमा बीएएलएलबीको पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ट अंक ल्याएका मध्य प्राञ्जली कँडेल र अञ्जली तिवारीसँग टेलिफोन संवाद गर्नु भएको हो । 

विश्वविद्यालयले गत पुस २९ गतेबाट सुरु गरेको बीएएलएलबी चौंथो वर्षको परीक्षा मध्य बुधबार भएको परीक्षामा कोभिड–१९ संक्रमित र संक्रमण नभएकालाई एउटै कोठामा राखिएको भन्दै परीक्षार्थीले शान्तिपूर्ण धर्ना दिएका थिए । 

धर्नामा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीको टोली बिहीबार गृहमन्त्री खाँणलाई भेट्न मन्त्रालय पुगेका थिए । भक्तपुरको दधिकोटस्थित काठमाडौंं स्कूल अफ ल क्याम्पसमा अध्ययनरत साइरस शर्मा, जीवन शर्मा, रश्मी रेग्मी, अर्नव चौधरी, अमृत मिश्र लगायत विद्यार्थी मन्त्री खाँणलाई भेट्न मन्त्रालयमा पुगेका थिए ।

संवादका क्रममा मन्त्री खाँणले पढ्नमा ‘ट्यालेन्ट’ विद्यार्थीले परीक्षा होस् भन्ने चाहना राखेको तर, परीक्षाको तयारी नगरेका विद्यार्थीले स्थगन भए केही तयारी गर्न पाइन्थ्यो भरेर स्थगनको माग राखेको भन्ने कुरा आएकोले यथार्थ के हो भनेर उनीहरुलाई सोध्नु भएको थियो । 

जवाफमा विद्यार्थीले बीएएलएलबी पहिलो, दोस्रो र तेस्रो वर्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीले पनि परीक्षा नदिएको बताएका थिए । मन्त्री खाँणसँगको टेलिफोनमा संवादमा कँडेलले परिवारसहित आफू कोभिड–१९ संक्रमित भएको र संक्रमित विद्यार्थीले छुट्टै बसेर परीक्षा दिने व्यवस्था विश्वविद्यालय र परीक्षा सेन्टर भएको क्याम्पसले नगरेको भन्दै केही समय स्थगन गर्दा उपयुक्त हुने सुझाएकी थिइन् । 

अर्की विद्यार्थी तिवारीले पनि परीक्षा केही समय स्थगित गरेर संक्रमण वृद्धिको उच्चदर केही रोकिएपछि गर्दा उपयुक्त हुने सुझाव दिएकी थिइन् । गृहमन्त्री खाँणलाई विद्यार्थीले भेटेर स्वास्थ्यका मापदण्ड नअपनाइ विश्वविद्यालयले परीक्षा सञ्चालन गरिएको भन्दै स्थगन गर्न माग गरेका थिए ।

उनीहरुले गृहमन्त्री खाँणसँग कोभिड–१९ संक्रमित र संक्रमणमा नभएकालाई एउटै कोठामा राखेर परीक्षा लिंदा सबैलाई संक्रमण हुने भन्दै छुट्टाछुट्टै राखेर परीक्षा दिने वातावरण निर्माण गरिदिन माग गरेका छन् । 

गृहमन्त्रीलाई भेट्न पुगेका शर्माले बुधबार चौंथो वर्षका परीक्षा दिने १५० मध्ये २७ जनाले मात्र परीक्षा दिएका बताए । परीक्षा दिनेमध्ये ९ जनालाई कोभिड–१९ संक्रमण भएको पनि गृहमन्त्री खाँणलाई जानकारी गराएका थिए । 

आफूहरुले स्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा गराउन माग गर्दै बुधबार शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले धरपकड गरेको भन्दै उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री खाँणले आफूले सबै विद्यार्थीले स्थास्थ्यका मापदण्ड पालना गरेर परीक्षा दिने वातावरण निर्माण गर्न पहल गर्ने आश्वासन दिनुभयो ।


प्रतिक्रिया