लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

माघ १२, २०७८ | तिलोत्तमा

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । खु्ल्लातर्फ नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, महिलातर्फ नेकपा एकीकृत समाजबादी पार्टीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र दलिततर्फ राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा विजयी भएका छन् । 

गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मत पाएका छन् । खुलातर्फ कांग्रेसका शर्माले ४ हजार ३४४, महिलातर्फ गैरेले ४ हजार ३७४ मतभार, दलिततर्फ विश्वकर्माले ४ हजार ३५६ मतभारत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो । 

नेकपा एमालेका उम्मेदवारका पक्षमा ३ हजार ३ सय १२ मतभार परेको छ । गठबन्धनका उम्मेदवारले एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् । 

मतदान बुधबार बिहान दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको थियो । निर्वाचनमा प्रदेशसभा सदस्य ८१ र एक सय ७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए । 

निर्वाचनमा प्रदेश सभा सदस्य एक बराबर ४८ र स्थानीय तहतर्फ एक सदस्य बराबर १८ मतभार हुने गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा र रुपन्देहीको रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति चमार अनुपस्थित रहे । 


प्रतिक्रिया