राष्ट्रिय सभा निर्वाचन : बाग्मतीमा गठबन्धन विजयी

माघ १२, २०७८ | मकवानपुर

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा बाग्मती प्रदेशतर्फको दुबै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । मकवनपुरको हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार भएको निर्वाचनमा गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । 

तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात २०८८ र पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात २१०६ मतभार प्राप्त गर्नुभयो । तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात २७३६ मतभार गरी कुल ४८२४ र पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात २६८८ मतभार गरी कुल ४७९४ मतभार प्राप्त गर्नुभयो । 

राष्ट्रियसभातर्फ रिक्त रहेको महिला र अन्य तर्फका गरी दुई सदस्य चयनका लागि निर्वाचन भएको थियो । पराजित विपक्षी दल नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात २१०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात २२५६ मतभार प्राप्त गर्नुभयो । 

एमालेकै अन्यतर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत अर्थात २०८८ र प्रदेशतर्फ ४७ मत अर्थात २२५६ मतभार गरी कुल ४३४४ मतभार प्राप्त गर्नुभयो । नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत अर्थात ३६ र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार प्राप्त गर्नुभयो । 

नेमकिपाकै अन्यतर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत अर्थात ३६ मतभार र प्रदेशतर्फ २ मत अर्थात ४८ मतभार प्राप्त गरेका थिए । उनले कुल ८४ मतभार प्राप्त गर्नुभयो । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एस), जनता समाजवादी पार्टी र जनमोर्चा रहेका थिए । 

राष्ट्रियसभा निर्वाचनमा बाग्मतीमा ३ सय ४६ मतदाता रहेको थियो । प्रदेशसभाको १०९ मतमध्ये १०६ मत खसेको थियो । स्थानीय तर्फ शतप्रतिशत अर्थात २३७ मत नै खसेको थियो भने दुई मत बदर भएको थियो । मतदान प्रक्रियामा विवेकशील साझा पार्टीले भने सहभागी भएनन् । विवेकशीलको प्रदेशतर्फ तीन मत रहेको थियो ।


प्रतिक्रिया